धनगढी । जेनजी आन्दोलनपछि कैलालीमा आन्तरिक राजस्व संकलन प्रभावित भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले साउनमा ७३, भदौमा ६९ र असोजमा ५७ प्रतिशत कर संकलन भएको जनाएको छ । साउनमा २९ करोड ६९ हजार लक्ष्य रहेकोमा २१ करोड २४ लाख १० हजार, भदौमा १५ करोड चार लाख ४९ हजार लक्ष्य रहेकोमा १० करोड ४१ लाख ९८ हजार र असोजमा २३ करोड १६ लाख ६५ हजार लक्ष्य रहेकोमा १३ करोड २४ लाख ६१ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका कर अधिकृत छत्रबहादुर माझीका अनुसार साउन महिनामा अघिल्लो आर्थिक वर्षको समेत मूल्य अभिबृद्धि कर, आयकर, अन्तःशुल्क बुझाउन आउने भएको हुँदा साउनमा लक्ष्य पनि बढी राखिएको थियो । साउनमा कारोबार कम हुने भएकोले भदौको कर संकलनको लक्ष्य साउनको भन्दा झण्डै आधा राखिएको थियो । तर, भदौ २४ गते भएको जेनजी आन्दोलनले गर्दा सरकारी कार्यालय, निजी क्षेत्र र वित्तीय क्षेत्र प्रभावित भएको हुँदा कर बुझाउन करदाताहरु आउन नसकेको अधिकृत माझीले बताए ।
चालुआर्थिक वर्षको तीन महिनामा ६७ करोड २१ लाख ८३ संकलन गर्ने लक्ष्य थियो । तर, ४४ करोड ९० लाख ६९ हजार रुपैयाँ (६७ प्रतिशत) संकलन भएको उनले बताए । भदौमा कर संकलन घटे पनि असोजदेखि कर संकलन बढ्दै जानुपर्नेमा आन्दोलनको कारणले कर संकलन भदौकै सरह असोजमा पनि स्थिर रहेको बताए ।
यसवर्ष तीन अर्ब ६७ करोड ९४ लाख रुपैयाँ वार्षिक लक्ष्य रहेकोमा तीन महिनामा १२ प्रतिशत संकलन भएको छ । अर्थतन्त्र चलायमान हुँदै जाँदा आन्तरिक राजस्व संकलनमा समेत सुधार भइरहेको अहिले ब्रेक लागेको हो ।
लक्ष्य पुरा हुन सकेको भए पनि आर्थिक वर्ष २०८०÷८१ को तुलनामा २०८१÷८२ मा राजश्व संकलन १.१२ प्रतिशतले राजश्व संकलन बृद्धि भएको थियो । प्रदेशमा रहेका तीन वटा आन्तरिक राजश्व कार्यालय र तीन वटा करदाता सेवा कार्यालयहरुले ०८०÷८१ वर्ष भन्दा ०८१÷८२ मा आठ करोड ५३ लाख ७२ हजार ६४० रुपैयाँ बढी राजस्व संकलन गरेका थिए ।
प्रतिक्रिया