कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो ।
मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कट्ठा क्षेत्रफलमा सो खेती गरेका थिए । अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उनले भटमास खेती विस्तार गर्दै डेढ बिघा जग्गामा खेती गरेका छन् । “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ भटमास बिक्री गर्दा राम्रो मूल्य पाइन्छ ।”
उनले कम लगानीमा धेरै आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान भटमास खेतीमा लागेको बताए । “यहाँ भटमास खेती गर्नेको सङ्ख्या बढ्दै छन् धान गहुँमा लगानी बढी हुन्छ मूल्य पाइँदैन ।” उनले भने, “अहिले अधिकांश किसानले परिवारलाई खान पुग्नेगरि मात्रै धान गहुँ खेती गर्छन् बाँकी जग्गामा भटमास खेती गर्छाैँ ।”
दोधारा चाँदनीका किसान चार/पाँच वर्ष यता परम्परागत बाली लगाउन छोडेर भटमास खेतीमा लागेका छन् । मलखाद र सिँचाइको समस्या झेल्दै आएका यहाँ किसान थोरै परिश्रम र लगानीमा राम्रो आम्दानी हुने भएपछि भटमास खेतीमा आकर्षित भएका छन् । “धान र गहुँ खेतीमा किसानको मेहनत मात्रै हो फाइदा बिचौलियाले लिन्छन् ।” दोधारा चाँदनी–९ का जगत बुढाले भने, “हामीलाई मेहनतअनुसारको मूल्य नआउने भएपछि विकल्पको रूपमा भटमास खेतीमा लागेका हौँ ।” उनले भटमासमा किसानले रोजेको मूल्य पाइने बताए । उनले गत वर्ष ८५ रुपैयाँ प्रतिकिलो भटमास बिक्री गरेको बताए । “भटमास खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने, “एक बिघा जग्गामा भटमास खेती गरेको छु अर्को वर्षदेखि विस्तार गर्ने योजनामा छु ।”
उनले किसानले उत्पादन गर्ने भटमास कुखुराको दाना उत्पादनका लागि व्यापारी घरमै आएर लग्ने भएकाले बिक्रीका लागि समेत पनि समस्या नभएको बताए । परम्परागत धानगहुँ खेतीभन्दा भटमासमा कम लागतमा मुनाफा बढी हुने गरेको उनको भनाइ छ ।
दोधरा चाँदनीमा तीन हजार ६०० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा भटमास खेती हुँदै आएको दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टले बताए । “यहाँको माटो भटमासका लागि उपयुक्त छ अन्य बालिभन्दा भटमास धेरै फल्छ ।” कृषि अधिकृत भट्टले भने, “पछिल्लो समय भटमास खेती गर्ने किसान बढ्दैछन् ।” उनका अनुसार गत वर्ष प्रदेश सरकारबाट भटमास खेती गर्ने किसानका लागि अनुदानसमेत आएको थियो । “प्रदेशले २५ हेक्टरका लागि मात्रै अनुदान दिएको थियो तर यहाँ किसान धेरै आएपछि हामीले ५८ हेक्टरमा अनुदान दियौँ ।” उनले भने, “पानी नजम्ने दोमट किसिमको माटो भएकाले यहाँ भटमास खेती फस्टाएको छ ।”
भटमास खेती गर्ने किसानको सङ्ख्या बढेपछि अर्को वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने योजना पालिकाको छ ।
प्रतिक्रिया