ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा भेटियो नयाँ प्रजातिको चरा

मङ्गलबार ०२, पुष २०८१ ११:१६

धनगढी । कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ । सो जिल्लामा पहिलो पटक कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबिथ्रोट)  चरा भेटिएको हो । हिमाली क्षेत्रमा पाइने कृष्णवक्ष रातोकण्ठ बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रको खेतबारीमा देखा परेको छ । नेपालका लागि यो प्रजातिको चरा दुर्लभ मानिन्छ ।

केही दिनअगाडि चरा अवलोकनका क्रममा चराविद् हिरूलाल डङ्गौरा, नेचरगाइड सुवन चौधरी, महानन्द जोशीलगायतको टोलीले सो चरालाई कञ्चनपुरमा पहिलो पटक अभिलेख गरेको हो । 

नेपालमा कम देखिने कृष्णवक्ष रातोकण्ठ चरा हिमाली क्षेत्रमा पाइने गरेको जनाइएको छ । जाडोयाममा भने यो चरा हिउँदे आगन्तुकका रूपमा तराईसम्म पुग्ने गरेको चराविद् हिरूलाल डङ्गौराले बताए । “कञ्चनपुरमा हामीले पहिलो पटक देख्यौँ”, उनले भने, “यो प्रजातिको चरा खास गरी हिमाली क्षेत्रमा पाइने तर कम रेकर्ड भएको चरा हो ।” कृष्णवक्ष रातोकण्ठ पर्वतमालामा फेला पार्न सकिन्छ ।

यसको बसाइ क्षेत्र पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको जनाइएको छ । कृष्णवक्ष रातोकण्ठलाई मध्य एसिया र भारतीय उपमहाद्वीपको चरा पनि भनेर चिन्ने गरिन्छ । यो प्रजातिको चरा नेपालसहित भारत, भुटान, पाकिस्तान, बङ्गलादेश, म्यानमार, रुस र थाइल्यान्डमा पाइने गरेको डङ्गौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेको नकैया सिमसारमा दुर्लभ सारससमेत पाइन्छ ।

प्रतिक्रिया