धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले सभाहल मर्मतको योजना टुक्राटुक्रा पारेर चार वटा फर्मबाट सोझै खरिद गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा २१ लाख ९३ हजार ७९५ रुपैयाँ खर्च भएको योजनामा चार टुक्रा परेर खरिद गरेको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा सो रकम अनियमित भएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार हरिकृष्ण होम डेकोरेसन सप्लायर्सलाई सभाहलमा पर्दा र क्यानभासका लागि एक लाख ४० हजार १२० रुपैयाँ भुक्तानी गरेको छ । संज्याल सप्लायर्स एण्ड ग्लास हाउसलाई सभाहलमा ढोका र रंगरोगनका लाई ९९ हजार ४४० रुपैयाँ, आस्था विजनेस ग्रुपलाई सभाहलमा वाल डेकोरेसन तथा पार्टेसनका लागि नौ लाख ८१ हजार ९४८ रुपैयाँ र बिबि निर्माण सेवालाई सभाहलमा पिभिसि तथा फलसिलिङका लागि नौ लाख ७२ हजार २८७ रुपैयाँ भुक्तानी भुक्तानी गरेको छ ।
‘यसवर्ष लम्कीचुहा नगरपालिकाले मालसामान तथा निर्माण कार्य टुक्राएर सोझै खरिद गरेको देखिएको छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘सोझै खरिद हुँदा लागत अनुमानकै हाराहारीमा सम्झौता हुने भएकाले मूल्य अभिवृद्धि कर तथा ओभरहेड पनि जोडेर भुक्तानी गर्दा निर्माण कार्य उपभोक्ता समितिमार्फत गरिँदा भन्दा महँगो हुने तथा मालसामान खरिदमा समेत प्रतिस्पर्धा नहुने देखिएको छ । पालिकाले टुक्रे खरिद कार्य गरेको नियमसंगत देखिएन ।’
महालेखा परीक्षकले लम्कीचुहाले सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थाविपरीत योजना टुक्राएर सोझै खरिद गरेको उल्लेख गरेको छ । खुला व्यायामशाला सञ्चालनको योजनासमेत लम्कीचुहाले टुक्राएर दुई निर्माण कम्पनीसंग सेवा खरिद गरेको छ । व्यायामशाला सञ्चालनका लागि अमृता निर्माण सेवालाई नौ लाख ९३ हजार २७० र एमके कन्स्ट्रक्सनलाई नौ लाख ९४ हजार चार सय रुपैयाँ भुक्तानी गरेको छ । महालेखाले सभाहल मर्मत र व्याशायशाला सञ्चालनको योजना टुक्राएर खरिद गरी भुक्तानी गरेको ४१ लाख ८१ हजार ४६५ रुपैयाँ अनियमित भएको उल्लेख गरेको छ ।
यसैगरी, लम्कीचुहाले एकै आर्थिक वर्षमा एकै व्यक्तिबाट एकै पटक र पटकपटक गरी सोझै खरिद गरेको छ । एकै व्यक्तिबाट तोकिएको सीमाभन्दा बढी रकम बराबरको बस्तु वा सेवा सोझै खरिद गर्न नहुने भन्दै महालेखाले सोझै खरिद गरेको एक करोड ३७ लाख ३२ हजार १५१ रुपैयाँ अनियमित भएको उल्लेख गरेको छ । प्रतिवेदनमा सवारी साधन, सौर्यबत्ति, डिजिटल बोर्ड लगायतका खरिदहरु टुक्रा पारेर एकै व्यक्तिसंग पटक पटक खरिद गरेको उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को प्रस्तावनामा सार्वजनिक निकायले खरिदलाई सम्भव भएसम्म खुला, पारदर्शी र प्रतिस्पर्धी बनाउनु पर्ने व्यवस्था भए पनि लम्कीचुहाले यो वर्ष कूल पुँजीगत खर्चको ३६.१४ प्रतिशत खुला प्रतिस्पर्धाको माध्यमबाट, ०.३६ प्रतिशत सिलबन्दी दरभाउपत्रमार्फत, ४.६७ प्रतिशत सोझै खरिदको माध्यमबाट र ५८.८३ प्रतिशत उपभोक्ता वा लाभग्राही समुदायमार्फत खरिद गरेको छ । खरिदलाई बढी प्रतिस्पर्धात्मक र खुला बनाउन खुला प्रतिस्पर्धाबाट खरिदको व्यवस्था गर्न महालेखाले लम्कीचुहालाई सुझाव दिएको छ ।
लम्कीचुहाको ७५ लाखको डिपिआर अलपत्र
लम्कीचुहा नगरपालिकाले ७४ लाख ५९ हजार १६७ रुपैयाँ खर्च गरेर बनाएको डिपिआर अनुसार योजना बनाएर कार्यान्वयन गर्न सकेको छैन । ‘पालिकाबाट ७४,५९,१६७ बराबरको रकम डिपिआर, आवधिक योजना निर्माण तथा वातावरणीय अध्यायन प्रतिवेदन तयारीमा खर्च गरेको छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘तर, डिपिआर तयार गर्दा कार्यालयको प्राविधिक जनशक्ति प्रयोग नगर्नुका कारण स्पष्ट उल्लेख गरिएको छैन । पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ रहेको राष्ट्रिय निकुञ्ज क्षेत्र तथा संघीय सरकार अन्तर्गतका निकायको अधिकारक्षेत्रमा पर्ने सडक र पुलमा चिसापानीको कर्णाली पुलमा लाइट जडान सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) कार्यान्वयनका चुनौतीहरूको समेत विश्लेषण गरेको छैन भने लेखापरीक्षण अवधीसम्म कार्यान्वयन भएको छैन । यसरी डिपिआर तयार गरिए पनि समयमा कार्यान्वयन नभएमा मूल्य बृद्धि तथा अन्य पारिस्थितिक परिवर्तनका कारण त्यसको औचित्य समाप्त हुने सम्भावना उच्च हुन्छ । त्यसैले आगामी दिनमा कार्यान्वयन सम्भव हुने तथा खरिद व्यवस्थापन गर्न सकिने परियोजनाहरूमा मात्र डिपिआर निर्माणमा खर्च गर्नुपर्दछ ।’
लम्कीचुहाले तयार गरेको चोरी, चरेला, धोविनिया, कर्णाली, बरआम, ढुंगे बजार, बहुला र रोरा खोलाहरुको आईईई प्रतिवेदन, आमपानी सडक, चिसापानी कर्णाली पुलमा लाईट जडान, नगरपालिका मिनिपार्क र संग्रहालय, आवधिक योजना निर्माण, रिफ्रेस सेन्टर सहितको बहुद्देश्यीय पर्यटन पार्क निर्माण गरी छ वटा डिपिआर कार्यान्वयन नगरेको प्रतिवेदनमा उल्लेख छ ।
कैलालीमा बेरुजुको दोस्रो स्थानमा रहेको लम्कीचुहा नगरपालिकाको बेरुजु पाँच करोड ५७ लाख ८८ हजार २०८ रुपैयाँ छ भने पाँच लाख ८० हजार ८८७ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ । यो वर्ष लम्कीचुहाको एक करोड ७४ लाख ३७ हजार ५८८ रुपैयाँ अनियमित भएको छ । योसंगै लम्कीचुहाको कुल बेरुजु ५२ करोड ६४ लाख २९ हजार ७२२ रुपैयाँ बेरुजु पुगेको छ । यो लम्कीचुहाको पछिल्लो बजेटको झण्डै आधा रकम हो । चालुआर्थिक वर्षमा लम्कीचुहाको कुल बजेट एक अर्ब २० करोड ९९ लाख रुपैयाँको छ ।
प्रतिक्रिया