ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा तीन वर्षअघि लडेका नौमध्ये आठ सीट जितेको कांग्रेस, यसपाली देउवाको हुँदैछ खोजी

मङ्गलबार २७, माघ २०८२ ११:३९

धनगढी । अघिल्लो साता कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका उम्मेदवारसंग छलफल गरे । छलफलमा सुदूरपश्चिमबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने र इच्छुक भएर पनि टिकट नपाएका कतिपय नेताहरुको पनि सहभागिता थियो । उक्त छलफलमा खोजी भइरहेको थियो, निवर्तमान सभापति शेरबहादुर देउवाको । 

‘आदरणीय शेरबहादुर देउवाको भौतिक उपस्थितिमै सुदूरपश्चिम प्रदेशभरको भेला कुनै एक ठाउँमा राख्नुपर्छ भन्ने माग सबै साथीहरुको थियो,’ बाजुरा कांग्रेसका उम्मेदवार जनकराज गिरी भन्छन्, ‘त्यो भेलामा सभापति गगन थापाको उपस्थिति पनि हुनुपर्ने साथीहरुको धारणा थियो । त्यो सम्भव नभए निवर्तमान र वर्तमान सभापतिमार्फत सयुक्त अपिल हुनुपर्ने आवाज छलफलमा उठेको थियो ।’

देउवाको खोजी अहिले सबैभन्दा बढी डडेल्धुरामा भइरहेको छ । डडेल्धुरामा सात पटक निर्वाचन जितेका देउवाको अनुपस्थितिमा कांग्रेसले यसपटक नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई मैदानमा उतारेको छ । तर, इच्छा हुँदाहुँदै पनि देउवालाई चुनाव लड्न नदिइएको र महरले टिकट पाउँदा देउवासंग सल्लाह नगरेको भन्दै उनका परम्परागत मतदाता कांग्रेससंग रुष्ट छन् । 

‘गाउँमा चुनावी अभियानसहित जाँदा देउवा चुनाव लड्न नआएको भन्दै कतिपय मतदाताले त भोट नै हाल्न नजाने बताइरहनुभएको छ,’ कांग्रेस डडेल्धुराका एक नेताले भने, ‘यस्तो अवस्थामा उहाँ (देउवा) जिल्लामा एकपटक उपस्थित भइदिनु भयो भने हामीलाई चुनाव जित्न सहज हुन्छ ।’ महर पनि देउवा डडेल्धुरामा आउनेमा आशावादी छन् । उनले फागुन दोस्रो साता देउवा डडेल्धुरा आउने जानकारी पाएको बताए । 

०४८ सालपछिका हरेक निर्वाचनमा सुदूरपश्चिमका कांग्रेस उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्थे, देउवा । तर, यसपटक देउवा न आफू चुनावी मैदानमा छन् न त चुनावी अभियानमै सक्रिय भएका छन् । विशेष महाधिवेशनमार्फत सभापति पद खोसिएपछि उनी कतै देखिएका छैनन् । उनले चुनावी कार्यक्रममा सहभागी हुने संकेत पनि देखाएका छैनन् । 

‘विशेष महाधिवेशनविरुद्व म अदालत गएको छु,’ आइतबार देउवालाई भेटेका कांग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार देउवा भन्छन्, ‘त्यही विशेष महाधिवेशनमार्फत आएको नेतृत्वले टिकट दिएका उम्मेदवारको प्रचारमा म कसरी जान सक्छु ?’ यद्यपी देउवालाई चुनावी कार्यक्रममा सहभागी भइदिन सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशबाट अनुरोध भइरहेको ती नेताले बताए । ‘देउवाको अनुपस्थितिमा सुदूरपश्चिममा कांग्रेसलाई पोजिसन सुधार गर्नसक्ने अवस्था नै छैन,’ ती नेताले भने, ‘पहिले जितेका थुप्रै सीट पनि गुम्ने खतरा छ । त्यसैले चुनावी कार्यक्रममा सहभागी नभए पनि निर्वाचन क्षेत्रमै देउवाले उपस्थित भइदिए पनि हुन्थ्यो भन्ने माग थुप्रै उम्मेदवारहरुको पनि छ ।’

देउवाको नेतृत्वमा ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिममा अविश्वसनीय जस्तै लाग्ने सफलता पाएको थियो । लडेका नौमध्ये आठ सीटमा जित निकाल्न सफल भएको थियो, कांग्रेस । माओवादी र एकीकृत समाजवादीसंग गठबन्धन गरेर चुनाव लडेको कांग्रेसले कैलाली– ४ र ५, कञ्चनपुर– २ र ३, अछाम– २, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकालेको थियो । सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एकमात्र उम्मेदवार थिए, रामजनम चौधरी । उनी कैलाली– १ मा नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ चौधरीसंग पराजित भएका थिए । 

तीन वर्षअघिको निर्वाचनमा नौ क्षेत्रमा चुनाव लडेर आठ सीट जित्दै प्रदेशमा पहिलो दल बनेको कांग्रेसले २१ फागुनको निर्वाचनका लागि १६ वटै क्षेत्रमा उम्मेदवार उतारेको छ । तर, ०७९ सालको निर्वाचन जित्ने आठमध्ये एनपी साउँद र पुष्पबहादुर शाहले मात्रै कांग्रेसबाट टिकट पाएका छन् । अन्य १४ उम्मेदवार नयाँ अनुहार छन् । 

नयाँ अनुहारबाट कांग्रेसको पोजिसन सुधार होला वा बिग्रेला भन्ने चासो अहिले प्रदेशभर छ । नेता–कार्यकर्ताको सक्रियताले सुदूरपश्चिममा कांग्रेसको पोजिसन राम्रै हुने दाबी प्रदेश सभापति बीरबहादुर बलायरको छ । यद्यपी उनी भने उपचारमा रहेको भन्दै सुदूरपश्चिमको चुनावी अभियानमा सहभागी हुन नपाएको बताउँछन् । ‘सबै साथीहरु लाग्नुभएको छ, नतिजा पनि राम्रै आउँछ होला,’ बलायरले भने ।
 

प्रतिक्रिया