धनगढी । आफूलाई सामाजिक अभियान्ताका रुपमा परिचित गराउँदै आएका युवा हुन्, हेमराज थापा । उनी यसपटक बाजुराबाट चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थापा सामाजिक र भौतिक विकासका दृष्टिकोणले पुछारमा रहेको बाजुराका विकट बस्ती पुगिरहेका छन् ।
उनको प्रचारको शैली पनि अन्य उम्मेदवारभन्दा फरक छ । हातमा एक माइक र साथमा पाँच–सात जना युवाहरु लगेर उनी गाउँगाउँ डुल्दै छन् । ‘देश–विदशेबाट छोरा–नातीको फोन आएको होला,’ उनी भोट माग्दै भन्ने गर्छन्, ‘त्यो मान्छे म नै हुँ । हेमराज थापा भनेको म नै हुँ ।’ रोजगारी र अध्ययनका लागि बाजुराबाहिर रहेका युवाहरुले आफ्नो पक्षमा मतदात गर्न फोनमार्फत परिवारलाई आग्रह गरेको दाबीसहित उनले यस्तो भनिरहेका हुन् । ‘युवाहरुले काठमाडौँ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दिल्ली, मुम्बै र विदेशबाट आफ्नो आमाबुवालाई घन्टीमा भोट हाल्न भनिराख्नु भएको छ,’ उनी भन्छन्, ‘हामी सबैको साझा लक्ष्य बाजुरा बनाउने हुनुपर्छ ।’
सरसफाइ अभियान्ताको परिचय बनाएर कैलाली– २ मा रास्वपाबाट उम्मेदवार छन्, केपी खनाल । उनले पनि विदेशबाट युवाहरुले आफूलाई मतदान गर्न परिवारका सदस्यलाई आग्रह गरिरहेको भन्दै मत मागिरहेका छन् । खनालले त परिवारका सदस्यमार्फत विदेशीएका युवाहरुलाई फोन गर्न लगाएर आफ्नो पक्षमा मतदानको माहोल बनाउनसमेत आग्रह गरिरहेका छन् । पछिल्लोपटक खनालले रोमानियामा रहेका युवासंग कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् । ती युवाका बुवालाई संगै राखेर उनले आफ्नो पक्षमा माहोल बनाइदिन आग्रह गरेका छन् । कतिपय उम्मेदवारले त भारतमा समेत चुनावी अभियान चलाएका छन् । डडेल्धुराबाट रास्वपाका उम्मेदवार डा. तारा जोशीले भारतका विभिन्न स्थानमा निर्वाचनका लागि घर फर्क अभियान चलाएका छन् । जोशीका भाइ यादव जोशीले भारतको नयाँ दिल्ली, पंजाव लगायतका क्षेत्रमा रास्वपालाई मतदान गर्न घर फर्क अभियान लचाएका छन् ।
रोजगारीका लागि युइएमा रहेका डडेल्धुराका राजेन्द्र ऐरलाई विदेशमै रहेका युवाहरुले यसपटक चुनावी अंकगणित फेरिदिने विश्वास छ । सामाजिक सञ्जालमार्फत कतिपय उम्मेदवारका चुनावी अभियान त विदेशमै रहेका युवाहरुको नेतृत्वमा भइरहेको बताउँछन् उनी । ‘अघिल्ला निर्वाचनमा विदेशमा रहेका युवाहरु धेरै चासो थिएन,’ उनी भन्छन्, ‘यसपटकको निर्वाचनमा आफू मतदानमा सहभागी हुन नपाए पनि विदेशमा रहेका युवाहरुले परिवारका सदस्यको मत प्रभावित गरिरहेका छन् । अधिकांशले मत परिवर्तन गर्न आफ्ना आमाबुवालाई कन्भेन्स गरिसकेका छन् ।’
हुन् त, सितिमिति मत बदल्न नखोज्नेमा पर्छन्, सुदूरपश्चिम प्रदेशका मतदाता । उनीहरुले पछिल्ला निर्वाचनमा वैकल्पिक राजनीति गर्ने भन्दै चुनावमा होमिएका उम्मेदवारलाई लगभग रुचाएका छैनन् भन्दा पनि हुन्छ । तर, प्रदेशमा रहेका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एउटै दललाई दोहो¥याएर विजयी पनि गराएका छैनन्, यहाँका मतदताले । अधिकांश क्षेत्रमा कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादीका उम्मेदवार विजयी भएका छन् । ०७४ र ०७९ सालको निर्वाचनमा भने केही क्षेत्रमा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जितको स्वाद चाख्न सफल भए । ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका १६ मध्ये आठमा नेपाली कांग्रेस, तीन–तीनमा एकीकृत समाजवादी र दुई सीटमा एमालेका उम्मेदवार विजयी भएका थिए । कांग्रेस र एकीकृत समाजवादीसंग गठबन्धन गर्दा पनि तत्कालीन माओवादी केन्द्र भने निल भएको थियो ।
गत चुनावमा केही क्षेत्रमा आफूलाई नयाँ भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उम्मेदवार उठाएको थियो । तर, रास्वाका उम्मेदवार जित्न त परै जावस निकट्तम प्रतिस्पर्धीसमेत बन्न सकेनन् । देशका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमबाट समानुपातिक मत पनि न्यून नै पाएको थियो, रास्वपाले । यसपटक रास्वापले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उतारेको छ । सोह्रै सीट जित्ने दाबीसहित रास्वपा सुदूरपश्चिम चुनावी मैदानमा छ । ‘अहिले सिंगो सुदूरपश्चिम नै घण्टीमय भएको छ,’ रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश बिष्ट भन्छन्, ‘हामीले १६ वटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छौं । चुनावी माहोल हेर्दा हामी १६ वटै सीटमा जित्न सफल हुन्छौं भन्ने विश्वास छ ।’ सभापति बिष्टका अनुसार पुराना दलहरु मतदाताको निराशा र रास्वपाप्रति बढ्दो आशा नै निर्वाचन क्षेत्र मुख्य आधार हो । ‘साढे तीन दशकमा पुराना दलहरुले गरेका गतिविधि नागरिकले रुचाएका छैनन्,’ बिष्टले भने, ‘अझै पनि पुराना दलका नेताहरुले सुध्रिने लक्ष्यण देखाएका छैनन् । अर्कोतर्फ बालेन शाह र रवि लामिछानेका काम नागरिकले रुचाएका छन् । त्यसकारण पनि हामी यसपटक सुदूरपश्चिमका सबै सीटमा जित निकाल्न सफल हुन्छौं ।’
प्रदेश सभापति बिष्टले सोह्रै सीट जित्ने दाबी गरे पनि जनसम्पर्क कमजोर भएका उम्मेदवारले चुनाव जित्नेमा रास्वपाकै अन्य नेताहरु विश्वस्त छैनन् । ‘अघिल्लो निर्वाचनको तुलनामा रास्वपाप्रति सुदूरपश्चिमका मतदाता सकारात्मक छन्,’ रास्वपाकै एक नेताले भने, ‘यो माहोलले समानुपातिक मत पनि ह्वात्तै बढाउँछ होला । तर, अधिकांश उम्मेदवार जनतामाझ भिजेका छैनन् । सांगठनिक रुपमा बलिया पार्टीका उम्मेदवार वर्षाैदेखि राजनीतिक गर्दै आएका छन् । त्यसैले केही क्षेत्रमा जित निकाल्न सकिन्छ होला ।’ ती नेताका अनुसार कैलाली– २, अछाम– २, कञ्चनपुर २, बाजुरा, बैतडी र डडेल्धुरामा रास्वपाको पोजिसन बलियो छ । कैलाली– २ बाट केपी खनाल, अछाम– २ बाट बालेनका पूर्वस्वकीय भुपदेव शाह, कञ्चनपुर– २ बाट रवि लामिछानेका विश्वास पात्र दीपक बोहरा, बाजुरामा हेमराज थापा, बैतडीमा हरिमोहन भण्डारी र डडेल्धुरामा अघिल्लोपटक स्वतन्त्र उम्मेदवार भएर विजयी भएका डा. तारा जोशी उम्मेदवार छन् ।
प्रतिक्रिया