धनगढी । कैलालीका किसान प्रेमलाल चौधरी धान बिक्री गर्न धनगढीको मोहनपुरस्थित खरिद केन्द्रमा पाँच दिनसम्म धाए । खरिद केन्द्रका कर्मचारीले भोलि आउनु भन्दै फर्काइरहे । अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले सूचना जारी गर्दै कोटाअनुसार धान खरिदका लागि कुपन वितरण भइसकेको भन्दै किसानलाई खरिद केन्द्रमा भीड नगर्न आग्रह गर्यो । ‘पाँच दिनदेखि धान बेच्नका लागि खरिद केन्द्रमा धाइरहेको छु,’ चौधरीले भने, ‘अहिले आएर खाद्यले कोटो पुगिसकेको भन्दै धान किनिरहेको छैन ।’ कैलालीमा गल्ला व्यापारीले पनि धान खरिद गरिरहेका छन् । तर, व्यापारीलाई धान बेच्दा लगानी पनि नउठ्ने चिन्ता चौधरीको छ । ‘गल्ला व्यापारीहरुले समर्थन मूल्यभन्दा एक हजार कममा धान खरिद गर्छु भन्दैछन्,’ चौधरीले भने, ‘यसरी हाम्रो लगानी पनि उठ्दैन । खाद्यले नै समर्थन मूल्यमा उत्पादित सबै धान खरिद गरिदिनु पर्यो ।’
धनगढी उपमहानगरपालिका– ११ घोडसुवाका किसान राधेश्याम राना पनि डल्लबमा धान राखेर मोहनपुर खरिद केन्द्रमा पुगे । रानालाई पनि खाद्यले फिर्ता पठाइदिएको छ । ‘केन्द्रबाट निर्धारित कोटा बराबर धान खरिद भइसकेको र कोटा नबढ्दासम्म धान खरिद गर्न नसक्ने जानकारी दिइएको छ,’ रानाले भने ।
कैलालीको गोदावरी नगरपालिका– ८ श्रीपुरका जनकलाल चौधरी धान बिक्री गर्न एक सातासम्म खाद्यको खरिद केन्द्रमा धाए । तर, उनले पनि धान बिक्री गर्न पाएनन् । ‘एक सातादेखि धनगढीको मोहनपुरस्थित खाद्यको खरिद केन्द्रमा गइरहेको छु,’ जनकलालले भने, ‘खाद्यका कर्मचारीले भोलि आउनु भन्दै फर्काए । अहिले आएर कोटा सकिएको र अब खरिद गर्न नसकिने भन्दै फिर्ता पठाइएको छ ।’
कैलालीमा खाद्यले १२ कात्तिकदेखि धान खरिद सुरु गरेको थियो । खाद्यको प्रादेशिक कार्यालयले तत्काल थप धान खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै किसानलाई बिक्रीका लागि नआउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । तर, खाद्यका खरिद केन्द्रमा किसानको दैनिक भीड अझै पनि लाग्ने गरेको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको थियो । ‘कोटाभन्दा झण्डै तीन हजार क्विन्टल बढी धान खरिद भइसकेको छ,’ थापाले भने, ‘केन्द्रले कोटा बढाएर नपठाउँदासम्म धान खरिद गर्न सक्ने अवस्था छैन ।’ कैलालीमा टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद गरिएको हो । नेपाल सरकारले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ । सोही मूल्यमा खाद्यले धान खरिद गरेको हो । तर, गल्ला व्यापारीले भने समर्थन मूल्यभन्दा एक हजार कममा धान खरिद गर्ने गरेका छन् ।
खाद्यले ३५ हजार क्वीन्टल मात्रै धान खरिदको कोटा निर्धारण गरेको अवस्थामा कैलालीमा धान भने तीन लाख आठ हजार मेट्रिकटन (३० लाख ८० हजार क्विन्टल) धान उत्पादन भएको छ । खाद्यले धान खरिद बन्द गरेपछि धान नै बिक्री नहुने चिन्तामा किसानहरु छन् । व्यापारीले पनि दुई हजार पाँच सयदेखि दुई हजार सात सयसम्म प्रतिक्विन्टल धान खरिद गरिरहेका छन् । उक्त मूल्यमा धान नपाए किसानद्वारा उत्पादित धान नै खरिद नगर्ने धम्की गल्ला व्यापारीको छ । ‘हामी धान नै खरिद गर्दैनौ, भारतमा सिधै चामल ल्याएर बिक्री गर्छाैं,’ जिल्ला प्रशासन कार्यालयको छलफलमा गल्ला व्यापारीले धम्की दिँदै भनेका थिए ।
खाद्यका कर्मचारी र व्यापारीबीचको सेटिङले धान खरिदमा चलखेल हुने गरेको अरोप किसानहरुको छ । एक गल्ला व्यापारीका अनुसार यसपटक खाद्यले छोटो समयमै कोटाअनुसार धान खरिद गर्नुमा पनि सेटिङ छ । ‘खाद्यले किसानको नभई व्यापारीको पनि धान खरिद गरेको छ,’ ती व्यापारीले भने, ‘व्यापारीहरुले किसानको नाममा फर्जी कागजात बनाएर खाद्यलाई पनि धान बेच्दै आएका छन् ।’ खाद्यले एक किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गर्ने भनेको छ । ‘तर एकै व्यापारीले कयौं किसानको फर्जी कागजात बनाएर सयौं क्विन्टल धान बिक्री गरेको पनि देखेका छौं,’ ती व्यापारीले भने ।
यता गल्ला व्यापारीहरुले भने कैलाली–कञ्चनपुरमा मोटो धानको मात्रै उत्पादन हुँदा समस्या भएको छ । ‘हामीले प्रतिक्विन्टल दुई हजार छ सयमा धान खरिद गर्दा पनि घाटा छ,’ गल्ला व्यापारी ओमप्रकाश अग्रवालले भने, ‘नेपालीहरुले मोटो चामलको भात खानै छोडिसके । जसका कारण किसानबाट खरिद गरेको धान बिक्री नै हुँदैन । गतवर्ष खरिद गरेको झण्डै ८० प्रतिशत धान अहिलेसम्म पनि बिक्री भएको छैन ।’
प्रतिक्रिया