ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा छैन प्रदेशसभा सञ्चालनको सुरसार

बिहिबार ०४, मङि्सर २०८२ ०१:४८

धनगढी । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षतविक्षत भएको सुदूरपश्चिम प्रदेशसभा अझै पुर्ननिर्माण भएको छैन । जसका कारण प्रदेशसभा बैठक पनि सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशसभासँगै ‘मिनि’ संसदको रुपमा रहने विषयगत समितिका बैठकहरु पनि सञ्चालन हुन सकेका छैनन् । 

प्रदेश सरकारले प्रदेशसभाको जारी अधिवेशन न अन्त्य गरेको छ, न बैठक सञ्चालनको तयारी नै छ । आन्दोलनकारीले आगजनी गर्दा तहसनहस भएको सभाको बैठक कक्ष उस्तै रहेकाले सभा कहिले सञ्चालन हुने भन्ने अझै अनिश्चित छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक कक्षको मर्मत, सामग्री व्यवस्थापन गरी बैठक सञ्चालन हुन डेढ–दुई महिना लाग्न सक्छ ।

प्रदेशसभा र विषयगत समितिका बैठकहरु सञ्चालन नहँुदा विधायिकी काम रोकिएका छन्, सांसदले जनताका समस्या सदनमा राख्न पाएका छैनन् भने बजेट तथा योजना कार्यान्वयन भएको ढिलाइ, सरकारका कामकारवाही तथा अनियमितताविरुद्ध नियमन र खबरदारी गर्ने कार्य रोकिएको छ । गत ५ भदौपछि प्रदेशसभा बैठक बसेको छैन । विषयगत समितिका बैठकहरु पनि ठप्प छन् । गत ११ जेठमा सुरु भएको प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य पनि भएको छैन । 

सत्तारुढ नेकपा एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बैठकहरु नबस्दा प्रदेशसभाले अहिले सरकारलाई खबरदारी गर्न नसकेको बताइन् । योजना कार्यान्वयनलगायत विषयमा जनताले गरिरहेका गुनासा र प्रश्नबारे सदनमार्फत् सरकारलाई राख्न पनि नपाएको उनको भनाइ छ । ‘यो वर्षको बजेटमा राखिएका योजनाहरु अहिलेसम्म किन कार्यान्वयनमा गएनन्, कतिपय योजनाहरु किन काटिए भनेर जनताले हामीलाई सोधिरहेका छन,्’ उनले भनिन्, ‘हामीले यी विषयहरु राख्ने र सरकारलाई खबरदारी गर्ने ठाउँ सदननै हो तर सदन लामो समय बन्द छ ।’ स्रोतसाधन जुटाएर मर्मत र सामग्री व्यवस्थापनको काम भइरहेको जानकारी पाएको उपनेता थापाले बताइन् ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा खर्च कटौतीका लागि प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम लागतका योजनाहरु कटौती गर्ने निर्णय गरेको छ । कटौतीमा परेकामध्ये सांसदका योजना धेरै छन् ।‘योजना कार्यान्वयनलगायत विषयमा नागरिकले गरिरहेका गुनासा व्यक्तिगतरुपमा सरकारसमक्ष पु¥याइरहेका छौँ तर सदनमार्फत् हुने खबरदारी अझ प्रभावकारी हुन्छ’ तत्कालीन माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक गीतादेवी मालले भनिन्, ‘अहिले त्यो रोकिएको छ ।’ सदन लामो समय बन्द राख्न नहुने उनले बताइन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार सभामा अहिले पाँचवटा विधेयक विचाराधीन छन् । केही उद्योग तथा वन सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक, टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बडघर र भल्मन्सा प्रथा संरक्षण र विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दर्ता छन् । त्यस्तै दलित शसक्तिकरण ऐन संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी सम्बन्धी विधेयक विचाराधीन रहेका जैसीले जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले सदन छिटो सुचारु गर्न प्रदेश सरकार र प्रदेश सभा सचिवालयले ध्यान दिनुपर्ने बताए । सदन बन्द हुँदा जनजीविकाका समसामयिक विषयको उठान, सरकारका कतिपय कामकारबाहीमाथिको खबरदारीसँगै विधायिकी काम पनि रोकिएको उनको भनाइ छ । प्रदेश सभा मर्मत र व्यवस्थाको कामलाई सरकारले प्राथमिकता दिनुपर्ने माग सांसदको छ ।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा मर्मत र आवश्यक सामग्रीको व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उपयुक्त ठाउँ पनि नभेटिएको र माइक, साउण्ड सिस्टम आदि व्यवस्थामा समस्या हुने भएकाले प्रदेश सभा बैठक अहिलेलाई अन्यत्र सञ्चालन गर्ने विकल्पमा जान नसकिएको उनले बताए । प्रदेश सभा सचिवालयका अनुसार अडियो, भिडियोलगायत ‘साउण्ड सिस्टम’को व्यवस्थापन दातृ निकायले गरिरहेको छ । ‘सचिवालय र संसदीय दलका कार्यालयको व्यवस्थापन गरिसकेका छौँ । बैठक कक्षमा ‘फलसिलिङ’ लगाउने काम प्रदेशको सहरी विकास कार्यालयले गर्दै छ । थप अरु काम पनि अगाडि बढाउने तयारी छ’ सभामुख भण्डारीले भने, ‘एक महिनाजतिमा प्रदेश सभा सञ्चालन होला ।’ 
 

प्रतिक्रिया