धनगढी । लगातार ३४ वर्ष नेपाली कांग्रेस र सत्ता राजनीतिको केन्द्रमा रहेका शेरबहादुर देउवा यस बेला सक्रिय राजनीतिबाट विश्राम लिने घडीमा छन् । देउवाले लिन लागेको विश्रामपछि सुदूरपश्चिमबाट उनको राजनीतिक उत्तराधिकारी को होला ? भन्नेमा यति बेला धेरैको चाँसो देखिन्छ ।
०४८ मा गृहमन्त्रीबाट सत्ता यात्रामा उक्लिएका देउवा त्यसपछि दुई पटक पार्टी सभापति, पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद निर्वाचित भए । सुदूरपश्चिमले उनलाई सधैँ माया, विश्वास र सम्मान दियो । त्यही कारण उनी सत्ताका सदावहार खेलाडीका रुपमा रहे । कांग्रेस सुदूरपश्चिममा त उनी सर्वमान्य रहे । कांग्रेस सुदूरपश्चिमको राजनीति उनकै छत्रछायाँमा रह्यो । उनले बढाउन चाहेका नेताले अवसर पाए, मन नपराएकाहरु थचारिए । तर, अब भने देउवाले लिने विश्रामसँगै उनको उत्तराधिकारी वा कांग्रेस नेतृत्व तहमा कुन नेता पुग्लान् भन्ने स्वभाविक चासो छ ।
सुदूरपश्चिम कांग्रेसबाट एनपी साउद, रमेश लेखक, बीरबहादुर बलायर, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डे र नैनसिंह महर अग्रस्थानका नेता हुन् । आपसी प्रतिस्पर्धाको मैदानमा रहेका उनीहरु आफूलाई अग्रस्थानमा ल्याउने ध्याउन्नमा देखिन्छन् । तर, देउवाको आशिर्वाद कसले प्राप्त गर्नेछन् भन्नैमै को नेता हुने भन्ने निक्र्यौल हुने धेरैको बुझाई छ ।
अग्रस्थानका ती नेतामध्ये पनि साउद, लेखक र बलायर देउवाका दृढ समर्थक हुन् । महर पनि देउवाकै समर्थक नेता हुन् । हाल सहमहामन्त्री रहेका पाण्डे र बडू भने फरक मत राख्ने नेता हुन् ।
सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी कांग्रेसको केन्द्रीय राजनीतिको प्रभावशाली स्थानमा पुग्नका लागि आन्तरिक प्रतिस्पर्धाको अग्रस्थानमा साउद र बलायर नै रहने कांग्रेस नेता कार्यकर्ताहरुको अुनमान छ ।
जेनजी आन्दोलन अघिसम्म सभापति देउवाले रमेश लेखलाई कोर समूहमा राखेर काम गराउँदै आएका भए पनि जेनजी आन्दोलनले उनलाई नराम्ररी धक्का दिएको अवस्था छ । अर्कोतिर बद्री पाण्डे र बडू इतर समूहका भएकाले उनीहरुले कुन बाटोबाट आफ्नो राजनीतिक स्थानलाई सुरक्षित राख्लान् भन्ने यकिन छैन । पूर्वमन्त्री पाण्डे पनि जेनजी आन्दोलनको प्रभावमै लपेटिएका छन् । अर्कोतिर सभापति देउवालाई समर्थन गर्दै आएका डडेल्धुराकै नैनसिंह महर पनि महामन्त्रीको कसरतमा देखिन्छन् । तर, उनले कुन बाटोबाट त्यो स्थान प्राप्त गर्न सक्लान् भन्ने पनि संकेत प्रष्ट भइसकेको छैन । साउँद, बलायर, पाण्डे, बडू र लेखक मन्त्री भइसकेका नेता हुन् ।
यस पृष्ठभूमिमा धेरैजसो कांग्रेस नेता कार्यकर्ताहरु साउदले नै स्थान सुरक्षित गर्न सक्ने आकलन गरिरहेका छन् । साउदको पुर्खेउली डडेल्धुरा हो । देउवापछि डडेल्धुराबाट साउद नै निर्वाचन लड्ने चर्चा पनि हुन्छ । नेपाल विद्यार्थी संघका सभापति भइसकेको पृष्ठभूमि, कार्यकर्ताबीचको सञ्जाल अन्य नेताभन्दा फराकिलो भएका कारण पनि साउद नै सुदूरपश्चिममा देउवाको उत्तराधिकारीको रोजाईमा पर्नसक्ने कांग्रेसभित्रका सबै पक्षधरको आकलन छ ।
साउद अघिल्लो महाधिवेशनमै महामन्त्रीका दावेदार थिए । आसन्न महाधिवेशनमा पनि उनी महामन्त्रीकै तयारीमा रहेको र देउवाको समर्थन पनि उनलाई नै हुने आकलन शेखर कोइराला निकट अर्का कांग्रेस नेताले आकलन गरे । साउद महामन्त्री भएको अवस्थामा हाल प्रदेश सभापति रहेका बीरबहादुर बलायर अन्य पदाधिकारीमा जान सक्ने उनको बुझाई छ ।
तर, पछिल्लो समय देउवासंग साउदको दूरी बढेको पनि कतिपय गतिविधिले देखाउँछ । यस्तो अवस्थामा बलायर वा लेखकले बाजी मार्न सक्ने पनि देखिन्छ । केन्द्रमा अहिलेको संस्थापन पक्ष कमजोर भए, पाण्डे र बडूको सम्भावना पनि रहेको कतिपय नेताहरु बताउँछन् । अर्कोतर्फ युवा पुस्ताले पार्टीमा अवसर पाउनुपर्ने माग भइरहेको छ । ‘महामन्त्रीमै निर्वाचन लडेर विजयी भए विद्यार्थी राजनीतिबाट उदाएका महर पनि देउवापछि काँग्रेसमा सुदूरपश्चिमलाई लिड गर्ने नेता हुन सक्छन्,’ एक नेताले भने ।
प्रतिक्रिया