ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको सीप तथा रोजगार मेला माघ ५ गतेबाट

शुक्रबार ०५, मङि्सर २०८२ ०४:०५

धनगढी । धनगढी उपमहानगरपालिकाले यसपालीको सीप तथा रोजगार मेला माघ ५ गतेबाट आयोजना गर्ने भएको छ ।

उपमहानगरले आज पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारी शुरु गरिएको जनाएको छ । मेलामा ३० दिनसम्म सीप विकास तालिम र १० दिन परामर्श सम्बन्धी कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । उनले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहबाट सहभागीले अनलाइन तथा अफलाइन माध्यम वा दर्ता शिविरबाट आवेदन दिन सक्ने बताए । उपमहानगरले मंसिर ३ गतेदेखि स्वमंसेवकको लागि समेत आवेदन लिन थालेको छ ।

मेलामा ईभि गाडी मर्मत, मोटरसाइकल तथा स्कुटर मर्मत, डिजिटल मार्केटिङ, फोटोग्राफी तथा ड्रोन अप्रेशन, वेटर/वेट्रेस, बेकरी, कफी बारिस्टा, फास्टफुट र कुक, पुरोहित, लेखा व्यवस्थापन, ईसिडि सहजकर्ता, एड्भान्स ब्युटिसियन, हेयर कटिङ, बेतबाँस हस्तकला, सांस्कृतिक पोशाक, बुटिक तथा कडाई, प्लम्बिङ, फर्निचर, वेल्डिङ, विल्डिङ वायरिङ, एसि तथा फ्रिज मर्मत र मोबालइल तथा सिसिटिभी मर्मत तालिम सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले मेला सञ्चालन सम्बन्धि कार्यतालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार माघ ५ गते शुरु भएको मेला फागुन १२ गतेसम्म सञ्चालन हुने छ । उपमहानगरकी उपप्रमुख कन्दकला रानाले गतवर्ष आयोजना भएको मेलाका ६७ प्रतिशत सहभागी स्वरोजगार भएको बताइन् । गतवर्ष पहिलो पटक मेला आयोजना भएपछि मेलाको माग बढेको बताउँदै उनले यसपाली पनि उपमहानगरले सहभागिताको दायरा बढाएको बताइन् ।

प्रतिक्रिया