काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय गर्ने भएको छ । महाधिवेशन र निर्वाचनबारे अन्योल देखिइरहेका बेला कांग्रेसले आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकबाट निर्वाचनमा जाने निर्णय गर्न लागेको एक नेताले जानकारी दिए ।
बैठकबाट निर्वाचनमा सहभागी हुने तर सरकारले पर्याप्त वातावरण बनाउन नककेकोबारे कांग्रेसले निर्णय गर्न लागेको हो ।साथै निर्वाचनमा जानका लागि कांग्रेसले सबै राजनीति दल, सरोकारवाला पक्ष, जेन–जी, नागरिक समाजसहितसँग पनि संवाद गर्नेगरी निर्णय गर्न लागेको हो ।
पार्टी संस्थापनले विशेष महाधिवेशनको लागि गरिएको हस्ताक्षर फिर्ता लिए पुस मसान्तसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनेमा सहमति जनाएको थियो । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसमा असहमति राखेको स्रोतले जानकारी दियो ।
नियमित महाधिवेशन गर्दा विशेष महाधिवेशन माग गरिएको हस्ताक्षर स्वतः निष्क्रिय हुने उनीहरूको भनाइ छ । साथै आजको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि दल दर्ताको निर्णय पनि गर्दै छ । त्यसपछि महाधिवेशनको विषयमा तीन–चार दिनमा पुनः केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया