धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेशनल युथ भोलेन्टरको नाममा नेकपा एमालेले जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् । अपराधमा संलग्न व्यक्तिको नेतृत्वमा संगठन बनाइनु राष्ट्रिय सुरक्षामाथि पनि गम्भीर प्रश्न भएको उनले बताए ।
नेपाली कम्युनिष्ट पार्टीले आगामी मंसिर १२ गते धनगढीमा गर्न लागेको प्रदेशस्तरीय पार्टी एकता सन्देश सभाका विषयमा शनिबार धनगढीमा आयोजित छलफल कार्यक्रमको उद्घाटनमा नेता रावलले मुलुकको अहिलेको स्थितिमा एमाले अध्यक्ष केपी ओलीले आगोमा घ्यू थप्ने काम गरिरहेको आरोप लगाए ।
‘सात÷सात वटा मुद्दा लागेको व्यक्तिलाई नेशनल युथ भोलेन्टरको नाममा नाइके बनाइयो । अपराध गरेको व्यक्तिलाई जनतालाई तर्साउने गरी संगठन बनाएको सुहाउँछ ?’ ओलीप्रति लक्षित गर्दै रावलले भने, ‘जो व्यक्ति चार÷पाँच पटक प्रधानमन्त्री भए, दुई पटक पार्टी अध्यक्ष भए, कयौँ वर्ष शासन चलाए उनीहरुले नै अपराधीको नेतृत्वमा संगठन बनाउनु राष्ट्रिय सुरक्षाका लागि अत्यन्त गम्भीर विषय हो ।’
ज्यान मार्ने उद्योग र अपहरणसहित सात वटा मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाएर एमालेले शुक्रबार नेशनल युथ भोलिन्टियर फोर्स गठन गरेको थियो ।
अर्को प्रसङ्गमा नेता रावलले नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमार्फत नयाँ जनादेशमा जान तयार रहेको बताए । निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी जनादेशमा जान तयार छौँ । नेपाली जनताको साथसहयोगमा आउने निर्वाचनमा बहुमत ल्याएर राज्य चलाउन तयार छौँ’ नेता रावलले भने, ‘तर वर्तमान सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्छ । भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गर्नुपर्छ । निर्वाचनमा खटिएका नेता र मतदातालाई स्वात्त्रपूर्वक मत हाल्न पाउनु पर्छ ।’
नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्दैछ । सभाको तयारीका लागि नेता रावलसहित गिरीराजमणी पोखरेललगायत नेताहरुले पार्टीका अगुवा नेताकार्यकर्तासँग शनिबार धनगढीमा छलफल गरेका हुन् ।
प्रतिक्रिया