ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा ‘जालपादेवी केबलकार’ निर्माणले पायो तीव्रता, कहिलेबाट हुन्छ सञ्चालन ?

आइतबार ०७, मङि्सर २०८२ ११:१०

धनगढी । कैलालीमा जालपादेवी केबलकारको निर्माणले तीव्रता पाएको छ । गतवर्षको पुसमा शिलान्यास गरिएएको चिसापानीदेखि राजकाँडा जोड्ने केबलकारको निर्माणले तीव्रता पाएको हो । 

पहिलो चरणमा केबलकार, पार्किङ र कार्यालय निर्माण भइरहेको छ भने सो कार्य आउँदो वैशाखसम्म सम्पन्न गर्ने योजना छ । वैशाखदेखि नै केबलकार सञ्चालन गर्ने योजना रहेको जालपादेवी केवलकार कम्पनीले जनाएको छ । केबलकारको १४ टावरमध्ये सात वटा निर्माण भइसकेको छ भने सात वटाको पिपिसि भइरहेको कम्पनीले जनाएको छ । संगसंगै केबलकारको टप र बटम स्टेशन निर्माण पनि आधाभन्दा बढी भइसकेको कम्पनीले जनाएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले पहिलो चरणमा २०८३ वैशाखमा केबलकार सञ्चालन गर्ने र दोस्रो चरणमा पाँच तारे होटल, क्यासिनो, फनपार्क लगायत निर्माण गर्ने जनाएको छ । कम्पनीका सञ्चालकमध्येका एक सुर्यबहादुर थापाले एक वर्षमै केबलकार सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए । 

यसैगरी, कम्पनीले टप स्टेशन राजकाँडामा जलपादेवीको मन्दिर पुनर्निर्माण, रेष्टुरेन्टसमेत बनाइरहेको छ । राजकाँडामा जिपलाइन, स्काई साइकलिङ, ज्यानसङ र क्लासब्रिज जस्ता एडभेञ्चर पर्यटनको विकास गर्ने योजना रहेको थापाले बताए । 

एक पिलरमा बनेको कर्णाली पुल हेर्न, भिडियो बनाउन आउने पर्यटकको सधैं भिड रहने चिसापानीमा विदेशी पर्यटक समेत भित्र्याउने लक्ष्यका साथ केबलकार, होटल, क्यासिनो र हल निर्माण गरिरहेको थापाले बताए ।  केबलकार निर्माण योजनाको २०८१ पुस १३ गते चिसापानीमा बटम स्टेशन शिलान्यास गरिएको थियो । 

केबलकारको ‘राइट अफ वे’मा पर्ने एक हजार आठ सय ६६ वटा रुख काटिएको थियो । केबलकार सञ्चालनका लागि नेपाल सरकारले २० बिघा जमीन कम्पनीलाई दिएको छ । चिसापनीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १४ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । चिसापानीदेखि राजकाँडासम्मको केबलकार यात्रा करिब १० मिनेटको रहने कम्पनीले जनाएको छ । सञ्चालक थापाले केलबकारबाट दैनिक पाँच हजार जनाले सेवा लिन सक्ने जनाए । 

केबलकार निर्माणसंगै राजकाँडामा रहेको जालपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गरिनुका साथै राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटल समेत निर्माण भइरहेको सञ्चालक थापाले बताए । उनले दुई वर्षमा होटल समेत निर्माण सम्पन्न गरी सञ्चालन गरिने बताए ।

केबलकारबाट राजकाँडा जाने पर्यटकलाई जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्ती ढुंगा लगायतको अवलोकन गर्ने व्यवस्था मिलाइने छ । जालपादेवी केबलकार सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्र सात अर्ब लगानीमा बनिरहेको पर्यटकीय पूर्वाधार हो । यसमा ६० प्रतिशत स्थानीय लगानीकर्ता र ४० प्रतिशत चन्द्रागिरी केबलकार कम्पनीले लगानी गरिरहेको छ । केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने छ भने हजारौं व्यक्तिको रोजगारी समेत सिर्जना हुने सञ्चालक थापाले बताए ।

चिसापानी पहाड र तराइँको संगमस्थल हो भने राजकाँडा चुरे पहाडको सबैभन्दा अग्लो ठाउँ हो । चिसापानीमा एकदमै गर्मी भइरहेको बेला राजकाँडामा चिसो मौसम हुन्छ । केबलकार बनेपछि १० मिनेटकै अन्तरमा फरक मौसमको अनुभव लिन पाइने सञ्चालक थापाले बताए ।
 

प्रतिक्रिया