ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली एमालेमा लफडा, १३ नेताको संगठित सदस्यता नै गायब

मङ्गलबार ०९, मङि्सर २०८२ ११:५९

धनगढी । नेकपा (एमाले) कैलालीको आन्तरिक विवाद सतहमा आएको छ । ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको तयारी भइरहँदा आन्तरिक कलह बाहिरिएको हो । एमाले जिल्ला कमिटी कैलालीको सदस्यता नवीकरणको विवरणमा १३ नेताको सदस्यता नै गायब भएपछि विवाद झनै चर्किएको छ । 

नेताहरु कुमार बडैला, दीपक रावल, प्रकाश खड्का, नवराज कँुवर, सावित्रादेवी सापकोटा, बसन्ती गिरी, गजेन्द्र स्वार, पवित्रादेवी गौतम, उदयराम जैशी, सुरतबहादुर बिष्ट, छत्रबहादुर खत्री, प्रेम कँडेल र जयनारायण जोशीको सदस्यता विवरणमा छैन । 

सदस्यता विवरणमा छुटेका रावलका अनुसार तल्ला कमिटीबाट सदस्यता नवीकरण गरेको रसिद प्रमाण हुँदाहुँदै पनि जिल्लाबाट प्रदेशमा नामावली पठाउँदा छुटाइएको बताए । उनले आइतबार बसेको जिल्ला कमिटी बैठकले यो गल्ती सच्याउन केन्द्रीय कमिटीलाई पत्राचार गर्ने निर्णय भएको समेत बताए । ‘मैले पार्टीमा १७ वर्ष समय बिताए, आजसम्म यस्तो भएको थिएन,’ उनले भने, ‘ हामीमाथि राजनीतिक बेइमानी गरिएको छ ।’

जिल्ला सचिव ममताप्रसाद चौधरीले पनि नवीकरण भएका सदस्यको नाम नै सदस्यता विवरणमा छुटाइएको भन्दै केन्द्रीय संगठन विभागलाई पत्र लेखेका छन् । ‘नवीकरण भएको तर विवरणमा छुट हुन गएकोले सदस्यता कायम गरी समावेश गरिदिन अनुरोध छ । साथै यस सदस्यता अध्यावधिकका कारणले ११औं महाधिवेशनको प्रतिनिधि संख्यामा कुनै थपघट नहुने कुराको समेत जानकारी गराइन्छ’ चौधरीले केन्द्रीय संगठन विभागमा लेखेको पत्रमा उल्लेख छ । 

सदस्यता कायम नभएका कतिपय नेताहरु विद्या भण्डारीलाई पार्टीमा सक्रिय गराउनुपर्ने भन्दै लविङमा थिए । केही नेताहरु अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने लविङमा पनि थिए । फरक विचार राखेकै कारण सदस्यता गायब पारिएको चर्चा पनि एमाले कैलालीभित्र छ ।  

यता एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले नवीकरण नगरेका कारण १३ जनाको सदस्यता कायम नभएको बताए । ‘जिल्लाले पालिका कमिटीलाई सदस्यता भेरिफिकेसनका लागि पनि पठाएको थियो,’ ढुंगानाले भने, ‘तर, उहाँहरुले सदस्यता नवीरकण गरेको पुष्टि भएन । सोही कारण सदस्यता कायम नभएको हो ।’

विवाद बढ्दै गएपछि एमाले कैलालीका अनुसार आइतबार बैठक बसेर छानबिनका लागि एउटा समिति बनाइएको छ । उक्त समितिले रिपोर्ट पेस गरेपछि थप प्रक्रिया अघि बढ्ने बताइएको छ । 
 

प्रतिक्रिया