धनगढी । कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै छ । गोष्ठीका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार नै धनगढी पुगिसकेका छन् । अर्यालसंगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढीमा छन् ।
बिहान ९ बजेदेखि सुरु हुने गोष्ठीमा गृह मन्त्रालयका सहसचिवले गोष्ठीबारे प्रकाश पार्ने कार्यक्रम छ । उद्घाटन सत्रमै सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री हिरा सार्की, मुख्यमन्त्री कमलबहादुर शाह र गृहमन्त्री अर्यालले मन्तव्य राख्ने कार्यक्रम छ ।
दोस्रो सत्रमा भने सञ्चारकर्मीलाई प्रवेश अनुमति छैन । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतिकरण हुनेछ । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको प्रस्तुति हुनेछ ।
त्यसपछि सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गर्ने कार्यक्रम छ ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने छ ।
प्रतिक्रिया