ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अनवरत जिताएका डडेल्धुरावासी देउवा चुनाव लडेको हेर्न चाहन्छन् ?

बिहिबार १८, मङि्सर २०८२ ११:१४

धनगढी । प्रतिस्पर्धी फेरिए, मतदाता फेरिए पनि, थपिए पनि । तर, २०४८ सालदेखि २०७९ सम्म ३१ वर्षको अवधिमा भएका संघीय निर्वाचनमा डडेल्धुराका जनताले प्रतिनिधि फेर्न चाहेनन् । जसका कारणा शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । देउवा ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । त्यसैकाे जगमा एक पटक गृहमन्त्री र पाँच पटक प्रधानमन्त्री बन्न सफल भए उनी । 

देउवा अहिले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा छन् । विधानअनुसार अब उनी कांग्रेस सभापतिको उम्मेदवार पनि बन्न पाउदैनन् । अब उनले प्रतिनिधिसभा निर्वाचनमा लड्छन् वा लड्दैनन भन्नेबारे चासो छ । उनलाई सातपटक जिताउने डडेल्धुरावासी भने विभाजित छन् । कसैले अन्तिम पटक देउवाले फागुन २१ को निर्वाचन लाड्नुपर्ने तर्क गरिरहेका छन् भने देउवाकै अगुवाईमा पुस्तान्तरण हुनुपर्ने तर्क गर्नेहरु पनि कम छैनन् ।

डडेल्धुरा अजयमेरुका मतदात भुवन पाण्डे देउवाले नै युवा पुस्तालाई अगाडि सार्नुपर्ने बताउँछन् । `उमेर भइसक्यो, राजनीतिक जीवनको पनि उत्तरार्धमा हुनुहुन्छ,´ पाण्डेले भने, `अब देउवाले नै युवाहरुलाई अगाडि बढाएर अभिभावक बन्नुपर्छ ।´

देउवाले अन्तिमपटक भए पनि प्रतिनिधिसभा निर्वाचन लड्नुपर्ने तर्क गर्ने पनि कम छैनन् । जिल्ला सदरमुकाम अमरगढीका निरज मल्ल विकल्प नभएका कारण देउवाले अन्तिम चुनाव लड्नुपर्ने बताउँछन् । `यसपटक त उहाँले चुनाव लड्नैपर्छ,´ मल्लले भने, `डडेल्धुराका जनताले पनि उहाँको सुरक्षीत अवतरण खोजेका छन् । यो निर्वाचनमा जितेर देश र जनताको लागि काम गरेर देखाउनुपर्छ ।´

०४८ सालमा पहिलो निर्वाचन जितेपछि गृहमन्त्री भएका देउवा पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । त्यसयताका निर्वाचनमा डडेल्धुरावासीले मत फेर्न नखोजेको देउवाको अपराजित यात्राले पनि बताउँछ । `देउवा जिते प्रधानमन्त्री, अरु जिते सांसद मात्र´ सोचाइले पनि देउवाको जित सहज पार्दै आएको छ ।

कांग्रेसको राजनीति नजिकबाट नियाल्दै आएका डडेल्धुराका पत्रकार डीआर पन्त पनि देउवाले फागुनको निर्वाचन लडे जित सुनिश्चित जस्तै भएको बताउँछन् । `देउवाले आफू उम्मेदवार बन्नुहुन्न भन्ने मेरो धारण हो,´ पन्तले भने, `देउवाले दोस्रो नभई तेस्रो पुस्तालाई उम्मेदवार बनाउनुपर्छ । तर यदि देउवा नै उम्मेदवार बने भने त कसैले पराजित गर्न सक्दैन ।´

पन्तका अनुसार २४ भदौमा देउवामाथि भएको आक्रमण डडेल्धुरावासीलाई नियोजित लागेको छ । `नियोजित नभए देउवा मात्र किन आक्रमणमा परे भन्ने प्रश्न छ,´ पन्तले भने, `त्यो घटनाले देउवाप्रती झन सहानुभूति बढेको छ । अर्कोतर्फ कांग्रेस र अन्य पार्टीमा देउवाको विकल्प पनि छैन । त्यसमाथि देउवालाई मन पराउने ५० कटेका मतदाताको संख्या बढी छ । यदि चुनाव नै लड्नुभयो भने उहाँलो सहज जित हुन्छ ।´

एमालेले पछिल्लो दुई चुनावमा देउवाविरुद्ध मैदान खाली छोडेको छ । ०७४ सालमा बाम गठबन्धन गरेर माओवादीका खगराज भट्टलाई समर्थन गरेको एमालेले ०७९ सालमा देउवाकै स्वकीय सचिव भएर वीपी कांग्रेसबाट उठेका कर्ण मल्ललाई समर्थन गर्‍यो । जसका कारण एमालेको संगठन जिल्लामा कमजोर देखिन्छ । अहिले बनेको नेपाली कम्युनिस्ट पार्टीबाट देउवालाई टक्कर दिने खगराज हुन् । उनी पनि देउवासंग निरन्तर चुनाव हारेका छन् । अघिल्लोपटक देउवाविरुद्द लडेका सागर ढकाल यसपटक डडेल्धुराबाट लड्छन् वा लड्दैनन निश्चित छैन ।

कहिले काे थिए देउवाका प्रतिस्पर्धी

 

०४८ सालमा पहिलोपटक आम निर्वाचन लडेका देउवाले २४ हजार ५७० मत पाउँदै फराकिलो जित निकाले । त्यसबेला उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका गोविन्दबहादुर कलौनी । उनले ६ हजार ६२८ मत पाए भने राप्रपाका गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए । ०५१ सालको मध्यावधि निर्वाचनमा भने देउवाको भोट घट्यो । तर, विजयी यात्रा जारी रह्यो । ३३ हजार ५२३ मत खसेकोमा देउवाले २० हजार ७०१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले ९ हजार ९६६ मत पाएका थिए । राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाए ।

०५६ को आम निर्वाचन भने देउवाका लागि झन सहज भयो । ४४ हजार २९३ खसेको मतमा देउवा २८ हजार ६५१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतले ७ हजार ८४० र राप्रपाका गणेशप्रसाद भट्टले ४ हजार ८९३ मत पाएका थिए । ०६४ सालको निर्वाचन भने देउवाका लागि सहज थिएन । भर्खर शान्ति प्रक्रियामा आएको माओवादी केन्द्र निर्वाचनमा आक्रमक देखिएको थियो । कांग्रेस र एमालेका शिर्ष नेता पनि हार बेहोर्दै थिए । तर, देउवा भने झिनो मतान्तर (१३६८)ले जित निकाल्न सफल भए ।

५१ हजार ८६८ मत खसेकोमा देउवाले २० हजार ५२९ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए । एमालेका विक्रमबहादुर शाहीले भने ७ हजार ९८२ मत पाए ।

०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा देउवाले फेरि मतान्तर बढाए । देउवाले २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत नेकपा माओवादीका खगराज भट्टले १२ हजार ४९३ मत पाए । एमालेका ताराप्रसाद जोशीले ‍७ हजार १९० मत पाए । ०७४ सालमा देउवाविरुद्ध बाम गठबन्धन भयो । तर, उनका प्रतिस्पर्धी भने पुरानै थिए । ०६४ र ०७० मा देउवासंग पराजित भइसकेका खगराजलाई बाम गठबन्धनले देउवाविरुद्ध चुनावी मैदानमा उतार्यो । तर, देउवालाई भने अपराजित यात्रालाई निरन्तरता दिन मुस्किल भएन । देउवाले २८ हजार ४४६ मत पाएर विजयी हुँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत पाए ।

०७९ सालमा पनि देउवा २०४८ सालदेखिको आफ्नो किल्ला जोगाउन सफल भए । देउवाले २५ हजार ५३४ मतसहित आफ्नो किल्ला जोगाएर अपराजित यात्रा कायम राखे । सातौंपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे । ढकालले १३ हजार ४२ मत पाए भने नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए ।

प्रतिक्रिया