ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका नाकाहरुमा एकाएक किन गरियो चेकजाँचमा कडाइ ?

बिहिबार १८, मङि्सर २०८२ ०३:४४

धनगढी । रोहिंग्या शरणार्थी रोक्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकाहरुमा चेकजाँच कडाइ गरिएको छ । सीमामा खटिएका सुरक्षाकर्मीले नाकाबाट आउनेको परिचयपत्र चेकजाँच गर्ने, शंका लागेकालाई उनीहरु आएको र जान लागेको ठाउँबारे विस्तृत वितरण लिने काम गरिरहेका छन् ।

यहाँको प्रमुख नाका त्रिनगर भन्सार नाकामा शसस्त्र प्रहरीले करिब डेढ सातायता रोहिंग्या शरणार्थी आउन नदिन शसस्त्र प्रहरीले नेपाल भित्रिनेको चेकजाँच र निगरानी कडा पारेको छ । रोहिंग्या शरणार्थी भारतीय आधारकार्ड बनाएर विभिन्न नाकाबाट नेपाल आइरहेको भन्ने सूचनाका आधारमा चेकजाँचमा कडाइ गरिएको सीमामा खटिएका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

‘भारतीय आधारकार्ड बनाएर इँटाभट्टामा काम गर्ने मजदुर, कामदारका रुपमा शरणार्थी छिर्ने गरेको भन्ने आएको छ’ नाकास्थित शसस्त्र प्रहरीको त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले भने, ‘पारी नाकामा खटिएका एसएसबीलाई पनि त्यस्तो शंका लागे खबर गर्नुहोला भनेका छौँ ।’ 

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार त्रिनगर नाका पुगेर नाकामा चेकजाँच कसरी भइरहेको छ, मान्छेको आवतजावत कसरी भइरहेको छ भनेर चाँसो राखेका थिए । नाकाको निरीक्षणपछि सशस्त्र प्रहरीको त्रिनगर गुल्ममा सुरक्षा ब्रिफिङ सुनेपछि उनले चेकजाँच गर्ने मेसिन राख्न सकिने संभावनाबारे चाँसो राखेका थिए । ‘गृहमन्त्रीज्यूले शरणार्थीबारे त्यस्तो कुनै विषय उठाउनु भएन तर नाकामा कसरी चेकजाँच हुन्छ भनेर चाँसो राख्नु भएको थियो’ एक सुरक्षा अधिकारीले भने ।

कैलालीको एक सय एक किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । नाकासँगै खुला सीमानामा पनि निगरानी बढाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । नाकाबाट भित्रिनेको परिचयपत्र हेर्ने, खुला सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने काम भइरहेको उनले बताइन् । कैलालीमा शसस्त्र प्रहरीका १५ वटा सीमा सुरक्षा पोष्ट छन् ।

कञ्चनपुरकै गड्डाचौकी नाकामा पनि प्रहरीले चेकजाँच कडाइ गरेको छ । ‘नाकामा पहिलेको भन्दा निगरानी र चेकजाँच बढाएका छौँ’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘खुला सीमा क्षेत्रमा पनि शसस्त्र प्रहरीले गस्तीहरु बढाएको छ ।’ कञ्चनपुरमा भारतसँग जोडिएको एक सय २९ किलोमिटर खुला सीमानालाई २४ वटा शसस्त्रका सीमा सुरक्षा पोष्टले निगरानी गर्ने गरेको छ । त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक कयौँ भारतीय नागरिक रोजगारी, घुमफिरलगायतका लागि नेपाल आउने गरेका छन् ।  

सुदूरपश्चिममा दार्चुला र बैतडीका सीमा नाकामा पनि सुरक्षाकर्मीले चेकजाँच कडाइ पारेका छन् । बैतडीको जुलाघाट नाकामा परिचयपत्रका आधारमा सुरक्षा पोष्टमा नाम ‘इन्ट्री’ गराएर ओहोरदोहोर गर्ने गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले नाकामा अनधिकृत आवतजावत हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए ।

भारतमा अवैध बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरिसकेका छन् । हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर) कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमले प्रभावित हुने भएपछि रोहिंग्यालगायत भारतमा अवैध रूपमा बस्दै आएका नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ । नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा प्रवेश गरी बस्दै आएका छन् ।
 

प्रतिक्रिया