ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विश्वविद्यालयमा उपकुलपति नपाएपछि मन्त्री पुनले भने- नेपाल आमाको सन्तान हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्

शुक्रबार १९, मङि्सर २०८२ ०९:४८

धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले आक्रोश पोखेका छन् । दुई पटक विज्ञापन गर्दा पनि कसैको आवेदन नपरेको भन्दै मन्त्री पुनले आक्रोश पोखेका हुन् । `सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई पटक विज्ञापन गरा पनि कसैको निवेदन परेन,´ मन्त्री पुनले फेसबुकमा लेखेका छन्, `मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।´

विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको थियो । तर, थप गरिएको म्यादमा पनि आवेदन नपरेको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थीले जानकारी दिए । `मन्त्रीज्यूले हिजो मलाई पनि फोन गरेर उपकुलपतिबारे बुझ्नु भएको थियो,´ उनले भने, `अहिलेकै मापदण्डअनुसार उपकुलपति पाउन गाह्रो भएकोले अध्यादेशमार्फत भए पनि ऐन संशोधन गर्न अनुरोध गरेको छु ।´

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उपकुलपतिको योग्यता तोकिएको छ । कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेशन)मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि गरेको हुनुपर्ने उल्लेख छ ।

यस्तै, विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्ननयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सीप र कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिले उपकुलपतिका लागि उमेर हद पनि तोकेको छ । दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने कार्यविधिमा भनिएको थियो ।

‘तोकिएको योग्यता र निर्धारण गरिएको उमेर हदअनुसार उपकुलपतिका लागि दाबेदार नै भेटिएनन्,’ सिफारिस समितिका संयोजक अवस्थीले भने, ‘विद्यावारिधि र डीएम गरेका अधिकांश व्यक्ति ६१ वर्षमाथिका छन् । तर, हामीले ६१ वर्षभन्दा कम उमेर भएकालाई मात्र उपकुलपतिका लागि आवेदन मागेका थियौँ । ६१ वर्षभन्दा कम उमेरका केही व्यक्तिको अन्य योग्यता पुगेको देखिए पनि १० वर्ष विश्वविद्यालयको प्राध्यापक गरका भेटिएनन् ।’ ऐनअनुसार बनाइएको कार्यविधिलाई टेकेर उपकुलपतिमा आवेदन माग गरिएको बताउँदै संयोजक अवस्थीले थपिएको म्यादमा पनि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्था देखिएको बताए ।

विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ । तीन जनालाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने समितिका संयोजक अवस्थीले बताए ।

प्रतिक्रिया