ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा उपनिर्वाचन : कुन पार्टीबाट को उम्मेदवार ?

शनिबार ०१, मङि्सर २०८१ १०:४५

धनगढी । मंसिर १६ गते हुने उपनिर्वाचनको सरगर्मी बढेको छ । सुदूरपश्चिममा एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि उपनिर्वाचन भइरहेको छ ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । 

उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको माओवदी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए । समन्वय समिति प्रमुखमा भने उम्मेदवारी नदिने उनले बताए । स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा राजुकुमारी विकलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । सुर्मा गाउँपालिका–४ मा पुष्करबहादुर बोहरा, पूर्वीचौकी गाउँपालिका–६ देवीलाल थापा, दुहुँ गाउँपालिका–५ मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ मा नानाराम कोलीलाई उम्मेदवार बनाएको माओवादी केन्द्रले जनाएको छ । 

यस्तै नेकपा एमालेले पनि विभिन्न स्थानमा उम्मेदवार टुंगो लगाएको प्रदेश सचिव रणबहादुर चन्दले बताए । स्वामीकार्तिक खापर गाउँपालिमा सुलोचनाकुमारी भण्डारी बुढालाई उपाध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय भएको उनले बताए । यस्तै दुहु गाउँपालिका–५ मा मानसिंह बडाल, भीमददत्त नगरपालिका–६ मा बहादुर चन्द, पुर्वीचौकी गाउँपालिका–६ मा देवबहादुर थापालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको चन्दले बताए । सुर्मा गाउँपालिका–४ र जिल्ला समन्वय समिति कैलालीका लागि उम्मेदवार छनोट गर्न छलफल भइरहेको चन्दले जानकारी दिए । 

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो । यसअघि केशवराज पन्तको नाम सिफारिस भएको थियो । उनी कैलारी गाउँपालिका–२ को दलित महिला सदस्य हुन् । यस्तै काँग्रेसले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा कुन्तिसरा शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरत रावतले जानकारी दिए । उनका अनुसार भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षका लागि वडा सभापति प्रकाशबहादुर चन्द र पुर्वीचौकी–६ मा मोहन थापाको नाम टुंगो लगाइएको छ । दुहु गाउँपालिका र सुर्मा गाउँपालिकाको उपाध्यक्षका लागि भने उम्मेदवार टुंगो लगाउन बाँकी रहेको प्रवक्ता रावतले बताए । 


कहाँ किन हुँदैछ उपनिर्वाचन ?
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको ०७९ पुस २३ गते निधन भयो । सोही दिनदेखि समन्वय प्रमुखको पद रिक्त छ । उनी काँग्रेसबाट निर्वाचित भएका थिए । गत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । जोशीको क्यान्सरका कारण निधन भएको थियो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

यस्तै, एमालेबाट निर्वाचित बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको जेठ २०८० मा, कांग्रेसबाट निर्वाचित डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा, माओवादी केन्द्रबाट निर्वाचित दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको असार २०८० र कांग्रेसबाट निर्वाचित भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पुस २०८० मा निधन भएको थियो । चारवटै वडामा वडाध्यक्षको पद रिक्त छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा २ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । १६ गते हुने उपनिर्वाचनका लागि २ गते उम्मेदवारी दर्ता भइरहेको छ । 
 

प्रतिक्रिया