ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमममा गैरसदस्यसंग सहकारीको कारोबार, ठगिए बचतकर्ता

शुक्रबार २६, मङि्सर २०८२ ११:१७
  • शिवशिखरले सुदूरपश्चिमका १२ हजार ३२ जनाको एक अर्ब ३२ करोड ३७ लाख ३४ हजार रूपैयाँ बचत फिर्ता गरेको छैन ।

  • चौमाला बचत तथा ऋण सहकारीले बचतकर्ताको ४७ लाख ५४ हजार रूपैयाँ फिर्ता गरेको छैन ।

  • सगरमाथा बचत तथा ऋण सहकारीले गैरसदस्यसंग कारोबार गरेकै कारण ऋण लगानी उठ्न नसकेर बचत फिर्ता गर्न सकेको छैन ।

 

धनगढी । धनगढी–५, पिपल चौतारामा एग्रोभेट पसल सञ्चालन गरेकी शारदा भट्टले व्यापारबाट कमाएको ६५ हजार रूपैयाँ शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा जम्मा गरेकी थिइन् । दैनिक बचत खाता खोली उनले आफ्नो छोरा परसको नाममा समेत बाल बचत खाता खोली ७० हजार रूपैयाँ जम्मा गरेकी थिइन् । 

धनगढी–६ जाली गाउँका देवलाल चौधरीले पनि श्रीमतीको नाममा शिवशिखरमै दुई लाख ५० हजार रूपैयाँ मुद्दती बचत र दैनिक बचत खातामा दुई लाख रूपैयाँ भन्दा बढी जम्मा गरेका थिए । 

पिपल चौतारामा खप्तड ट्रेड एण्ड सप्लायर्स सञ्चालन गरिरहेका टेकबहादुर खड्काले पनि शिवशिखरमै आफ्नो र श्रीमतीको नाममा दैनिक बचत मार्फत् एक लाख १५० हजार रूपैयाँ जम्मा गरेका थिए । उनीहरूले पनि व्यापारबाट कमाई भएको रकम भविष्यको लागि भन्दै बचत गरेका थिए । 

गौरीगंगा–१, गोप्का चोकमा हेयर कटिङ सेन्टर सञ्चालन गरेका मनोज चौधरीले पनि शिवशिखरमै दैनिक बचत मार्फत् ४० हजार रूपैयाँ जम्मा गरेका थिए । कपाल काटेर कमाएको रकम मध्ये दैनिक दुई सय रूपैयाँका दरले शिवशिखरमा जम्मा गर्ने गरेका उनले दैनिक एक सय रूपैयाँका दरले चौमाला बचत तथा ऋण सहकारी संस्थामा पनि दैनिक एक सय रूपैयाँ जम्मा गर्ने गरेका थिए । 

भविष्यको आवश्यकताका लागि शिवशिखरमा बचत गरेका उनीहरूले हालसम्म पनि बचत फिर्ता पाएका छैनन् । कैलालीमा छ हजार जना बचतकर्ताको ६२ करोड ८३ लाख रूपैयाँ बचत फिर्ता गरेको छैन । शिवशिखरले कञ्चनपुरका तीन हजार ६७१ बचतकर्ताको ३१ करोड ९७ लाख, डडेल्धुराका एक हजार ५४३ जना बचतकर्ताको ३१ करोड १६ लाख ७२ हजार र डोटीका ८१८ जनाको ६ करोड ४० लाख ६२ हजार बचत नगरेको सम्बन्धित जिल्ला प्रहरी कार्यलयले जनाएका छन् ।

२०७९ मा शिवशिखर डुबेपछि बचत फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका उनीहरूले जिल्ला अदालत कैलालीको फैसलाको पर्खाईमा बसेका छन् । ‘त्यती बेला सहकारी डुबिरहेको छ भन्ने जानकारी समेत हामीले पाएनौं,’ खड्काले भने, ‘मानिसहरूले जम्मा गरेको रकम भटाभट झिकिरहेका थिए । हामीले जम्मा गरिरह्यौं । एकै पटक सहकारी बन्द भएको थाहा पायौं । पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरियो । मुद्दा सरकारवादी भयो तर फैसला अझै भएको छैन ।’

चौमाला बचत तथा ऋण सहकारीमा १५ हजार रूपैयाँ जम्मा गरेका मनोजले दुबै सहकारीबाट बचत फिर्ता पाएका छैनन् । २०७८ मा डुबेको चौमाला बचत तथा ऋण सहकारीले बचतकर्ताको ४७ लाख ५४ हजार रूपैयाँ बचत फिर्ता गर्न बाँकी छ भने ७८ लाख १६ हजार रूपैयाँ ऋण लगानी असुल गर्न बाँकी छ । ‘तिर्नुपर्ने भन्दा लिनपर्ने नै बढी छ,’ उक्त सहकारीका अध्यक्ष डिल्लीराम आचार्यले भने, ‘तर, व्यवस्थापक नभएकोले कति जनालाई तिर्न छ । कोकोबाट असुल गर्नु छ भन्ने थाहा हुन सकेको छैन । मसंग २०७८ मसान्तसम्मको अडिट रिपोर्ट मात्रै छ ।’

चौमाला सहकारीमै टेलरिङ व्यवायबाट आर्जन गरेको २९ हजार ८३३ रूपैयाँ आफ्नो नाममा र २० हजार ८०८ रूपैयाँ श्रीमान खेमराजको नाममा जम्मा गरेकी गोप्का चोककी निरू चौधरीले पनि बचत फिर्ता पाएकी छैनन् । गोप्का चोकमै खाजा पसल सञ्चालन गरेर आर्जेको ८२ हजार रूपैयाँ चौमाला बचत तथा ऋण सहकारीमै जम्मा गरेका रूद्र रानामगरले पनि बचत फिर्ता पाएक छैनन् । 

गोप्कामै विनय शु सेन्टर सञ्चालन गरेका रामबहादुर चौधरीले चौमाला सहकारीबाट १३ हजार फिर्ता पाएका छैनन् । उनकी श्रीमती रिनाले ४४ हजार ५२० र उनले एक लाख दुई हजार ३७० रूपैयाँ शिवशिखरबाट फिर्ता पाएका छैनन् ।

स–साना लगानीबाट व्यवसाय शुरू गरी सुन्दर भविष्यको सपना देखेर सहकारीमा बचत गरेका यि उद्यमी व्यवसायीहरूले सहकारीबाट बचत फिर्ता नपाएपछि आफ्नो व्यवसायमा बृद्धि गर्न नपाएको बताए । ‘अलिअलि बचत भएपछि टेलरको सामान र मसिन थप्ने इच्छा थियो,’ निरूले भनिन्, ‘सहकारीले बचत नै फिर्ता नदिएपछि व्यापार नै बढाउन सकिएन ।’

उदाहरण दिएका यि व्यक्तिहरू सहकारीसंग कारोबार गरेर बचत डुबाएको भएपनि ति सहकारीका सदस्य भने होइनन् । सहकारी ऐन २०७४ को दफा ५० ९१० मा सहकारीले आफ्ना सदस्यहरुको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यहरुलाई मात्र ऋण प्रदान गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाको परिपालन नगर्ने सहकारीहरु समस्यामा पर्दै गएका छन् । 

धनगढीको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यहरुसंग कारोबार गरेकै कारण समस्याग्रस्त भएको छ । १६० जना शेयर सदस्य रहेको सगरमाथाले एक हजार एक सय भन्दा बढी व्यक्तिसंग कारोबार गरेको थियो । सो सहकारीले गैरसदस्यलाई तत्काल शेयर किनाएर बिना धितो सात लाख रुपैयाँसम्म ऋण दिएकै कारण लगानी असुल नभएर बचतकर्ताको बचत फिर्ता गर्न नसकेको उक्त सहकारीका अध्यक्ष विश्वप्रसाद पौडेलले बताए । ‘सहकारी विश्वासमा चल्ने संस्था भएकोले हामीले सहजै ऋण दिंयौं,’ उनले भने, ‘कतिपय मोटरसाइकल पनि फाइनान्स गर्‍यौं । कसैले पनि ऋणको किस्ता तिरेनन् । कतिपय मोटरसाइकलवालाको दुर्घटनामा मृत्यु भयो । कम्पनीहरुले हामीलाई थाहै नदिएर नामसारी गरिदिए । लगानी असुल भएन ।’

अझैपनि बचतकर्ताको बचत फिर्ता गर्न बाँकी रहेको बताउँदै अध्यक्ष पौडेलले गैरसदस्यहरूसंग पनि कारोबार गरेको हुँदा सहकारी समस्यामा परेको बताए । ‘शेयर सदस्य नभएका मानिसहरूको बचत स्वीकार गरियो र उनीहरूलाई ऋण दिंदा नै शेयर कटाएर लगानी गरियो,’ उनले भने, ‘लाखौं पाइने भएपछि कसैले ४/५ हजारको शेयर लिन नसक्ने कुरो भएन । यसले गर्दा ऋण लगानी असुल हुन नसक्ने अवस्था आयो ।’

कतिपय शेयर सदस्यको शेयर समेत फिर्ता गर्न बाँकी रहेको अध्यक्ष पौडेलले बताए । उनले सगरमाथाको बजारमा क्रियाकलाप बन्द रहेको जनाए । उनले विस्तारै सबै बचतकर्ताहरुको लगानी फिर्ता गरिसकेपछि बाँकी रहेकै शेयर सदस्यबीच कारोबार गर्ने गरी सहकारीलाई अगाडि बढाउने बताए । उनले एक सय जना भन्दा बढीले सगरमाथालाई २० हजारदेखि सात लाख रुपैयाँसम्म तिर्न बाँकी रहेको बताए । उनले लगानी गरेको ऋण असुलीका लागि प्रहरी र जिल्ला प्रशासनमा गएको भएपनि समाधान हुन नसकेको बताए ।

यसैगरी, गौरीगंगा नगरपालिका वडा नं। १ को चौमाला बचत तथा ऋण सहकारी संस्थाको पनि बचतकर्ताको बचत समेत फिर्ता र ऋण लगानी असुल गर्न नसकेर कार्यालय र कारोबार दुबै बन्द छ । गौरीगंगा नगरपालिकाका सहकारी शाखा प्रमुख अशोक जोशीले सहकारी सञ्चालन गरी बचतकर्ताको बचत फिर्ता गर्न पटक–पटक ताकेता गरेपनि सहकारी संस्थाका सञ्चालकहरुले बेवास्ता गरेको बताए ।

उक्त सहकारीका अध्यक्ष आचार्यले मुद्दती बचतमा रहेको एक जानको मात्रै पाँच लाख रुपैयाँ तीनुपर्ने बाँकी रहको बताए । उनले सबै बचतकर्ताको एक लाख भन्दा कम रकम फिर्ता गर्न बाँकी रहेको बताए । ‘पाँच लाख भन्दा बढीका ऋणी छन्,’ उनले भने, ‘अहिले नै ऋणीहरुको नाम नभनौं । तर उनीहरुको गोपनियताको कुरा पनि हुन्छ । तर ऋणीहरुले ऋण नतिरिदिएकै कारणले हामीले सहकारी चलाउन नसक्ने अवस्था आएको हो ।’

उक्त सहकारीमा पाँच लाख रुपैयाँ मुद्दती खाता खालेर बचत रहेका चौमाला–१, गोप्काका संगल चौधरीले सहकारीका सञ्चालकहरुले आफ्ना मान्छेहरुलाई बिना धितो चाहिएको जति ऋण लगानी गरेको कारण सहकारी डुबेको बताए । ‘वाणिज्य बैंकमा खाता थियो,’ गौरीगंगा नगरपालिकाका कार्यालय सहयोगी रहेका चौधरीले भने, ‘त्यो खातामा पैसा छ भन्ने थाहा पाएका व्यवस्थापक मिनबहादुर रावतले दैनिक जसो भेट हुने वित्तिकै ‘अंकल सहकारीमा खाता खोल्नुप¥यो, १० प्रतिशत व्याज दिन्छ’ भन्थे । पछि फोन गरेर पनि भन्न थाले । मेरो घर छेउमै रावतको पनि घर भएकोले मैले पनि विश्वास गरे । मुद्दती खाता खोलेर जम्मा गरिदिए । तर भित्रभित्रै हिसाब गोलमाल गरिसकेका रहेछन् । एक वर्षको मुद्दती अवधि सकिएपछि निकाल्न जाँदा पैसा नै दिएनन् । सबै पैसा आ–आफ्ना मान्छेलाई लगानी गरेर उठाउन नसकेका रहेछन् ।’

चौधरीले आफ्नी छोरी र ज्वाइँले भारतको सुरतबाट कमाएर पठाएको रकम समेत सहकारीमा डुबेको बताए । ‘छोरीले पैसा जम्मा गरेर जग्गा किनी दिनु भनेर महिना महिनामा पैसा पठाउँथिन्,’ उनले भने, ‘मैले चौमाला सहकारीमा जम्मा गरिरहन्थे । दुई लाख ४७ हजार रुपैयाँ पुगिसकेको थियो । गाउँमा जग्गा हेरे । बयाना दिनलाई रकम झिक्न गएँ । पैसा छैन भनेर फर्काए । दिन्दिनै पैसा झिक्न गएँ । पैसा दिएनन् । सहकारी नै बन्द गरेर व्यवस्थापक रावत फरार भए ।’

बैद्यनाथ बुढीगंगा बहुद्देश्यीय सहकारी संस्थाले पनि शेयर सदस्य नभएकै व्यक्तिको खाता सञ्चालन गर्नुका साथै ऋण पनि दिने गरेको छ । कर्जा दिंदा नै तत्कालै कर्जा दिने रकमबाटै कटौती गरी शेयर खरिद गराउने गरेको छ । यस्तो गर्नेमा बैद्यनाथ बुढीगंगा मात्रै होइन । कैलालीमा बचत तथा ऋणको कारोबार गर्ने अधिकांश सहकारीहरूले गैरसदस्यसंग कारोबार गर्नुका साथै सहकारी ऐनको यो दफा अनुसार कारोबार गरेको देखाउन कर्जा प्रबाह गर्दा नै शेयर काट्न लगाउने गरेका छन् । 

दफा ५० ९७० मा सहकारी संस्थाले प्राथमिक कोषको १५ गुणा बचत संकलन गर्न सक्ने व्यवस्था गरेको छ भने दफा ५२ ९१० मा सदस्यको व्यक्तिगत बचत सीमा प्राथमिक पुँजिकोषको १० प्रतिशतसम्म सहकारीले बचत स्वीकार गर्न सक्ने र दफा ५२ ९२० मा शेयर सदस्यहरुलाई प्राथमिक पुँजीकोषको १५ प्रतिशत भन्दा बढी ऋण प्रबाह गर्न नपाउने व्यवस्था गरेको छ । तर सहकारीहरुले सो सीमा भन्दा बढि बचत स्वीकार र ऋण प्रबाह गरेको हुँदा केही सहकारीहरु बचतकर्ताको बचत समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । 

सहकारीहरु एकपछि अर्को डुब्दै गएपनि सरकारी निकायले सहकारीलाई नियमन गर्नतिर चासो दिएका छैनन् । न त सहकारीमा पैसा डुबेका बचतकर्ताहरुलाई बचत फिर्ता गराउन पहल गरेका छन् । नेपाल सरकारले सहकारीको कर्जा असुली न्यायाधिकरण गठन गरेको भएपनि सो न्यायाधिकरणसम्म जान समेत स्थानीय तहहरुले आफ्नो नियमन क्षेत्रमा रहेका सहकारीहरुलाई सहजिकरण समेत गरेका छैनन् ।

गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले सहकारीको डुबेको ऋण लगानी र सहकारीका बचतकर्ताको डुबेरको बचत झिकाइदिने विषय स्थानीय तहको नरहेको बताए । ‘कसैको डुबेको बचत र ऋण लगानी उठाइदिने हाम्रो क्षेत्राधिकारमा पर्दैन,’ उनले भने, ‘सहकारी आफैमा स्वायत्त संस्था भएकोले सहकारीको सर्वोच्च निकाय साधारण सभा नै हो । आफ्नै शेयर सदस्यको बचत लिएका हुन्छन् र आफ्नै शेयर सदस्यलाई लगानी गरेका हुन्छन् । यो कुरा सहकारीहरुले आफ्नै साधारण सभाबाट समाधान गर्नुपर्छ । समस्या परेपछि मात्रै सरकारी निकायमा आउनु हुँदैन ।’

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार टीकाराम थापाले स्थानीय तह र प्रदेशमा सहकारी बुझेको जनशक्ति नभएकै कारणले अनुगमन र नियमन हुन नसकेको बताए । ‘सहकारी प्रणाली नै नबुझेपछि के अनुगमन गर्ने, कुन खातापाता हेर्ने भन्ने विषयमा अन्यौलता हुन्छ,’ उनले भने, ‘कतिपय सहकारीहरु दर्ता भएर झोलामै सीमित छन् । ति सहकारीको अफिस पनि छैन । कतै बोर्ड पनि लगाएको छैन । कतिपयले रासायनिक मलको कारोबार गर्नका लागि मात्रै पनि कृषि सहकारी खोलेका छन् ।’

प्रतिक्रिया