टीकापुर । तातो मौसममा कोदो खेती, तराईका किसानहरुले सायदै सोच्थे । तर, पहाडी किसानहरुको बसाइँसराइसँगै परम्परागत तथा रैथाने बालीहरु पनि तराई झरेर किसानहरुका लागि नयाँ अवसर बन्न थालेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–८, बटनपुरका महिलाहरुले तराईमा कोदो हुदैन कि भन्ने परम्परागत मान्यता तोडेका हुन् । पहाडी–लेकाली भेगमा मात्र हुर्कने भनिएको कोदो टीकापुरमा राम्रो उत्पादन भएपछि स्थानीय कृषक महिलाहरु हौसिएका छन् ।
हुन त हेपिएको रैथाने अन्न बालीका रुपमा लिइने कोदोको महिमा पहिलाको जस्तो पनि छैन यतिबेला । सहरबजारका होटल रेस्टँुरादेखि परिवारका घरघरमा कोदोको रोजाई देखिन्छ । यस वर्ष कैलालीको टीकापुर नगरपालिका ८ बटनपुराका स्थानीय महिलाहरुले कोदोको राम्रो उत्पादन गरेका छन् । बटनपुरका स्थानीयहरुद्धारा गठित सिर्जना टोल विकास संस्थाकी अध्यक्ष मालमतीदेवि साउँदले पूख्र्यौली घर अछामको बाजकोटबाट आधा किलो बीउ ल्याएर टीकापुरमा रोपिन् । ‘बीउ राम्रै उम्रियो । त्यो बीउ संस्थामा आवद्ध हामी महिलाहरुले डेढ कठ्ठा जग्गामा असार महिनामा रोपेका थियौं । पहाडको भन्दा पनि राम्रो फल्यो,’ मालमतीले भनिन्, ‘डेढ कठ्ठामा ८० किलो उत्पादन भयो । अब खेती विस्तार गर्ने योजना छ ।’
पहिलोपटक व्यवसायिक रुपमा उत्पादन गरिएको कोदो प्रतिकिलो एक सय २० रुपैयामा बिक्री दर कामय गरेका छन् । चिसो सिजनमा कोदोको परिकार स्वास्थ्यका लागि राम्रो हुने भन्दै किन्न आउनेहरुको ताती छ । आइतबार विहान मालमतीको घरमा पुग्दा चार, पाँच जना कोदो किन्न आएका थिए । एक जनालाई पाँच किलोभन्दा बढी नदिने नियम टोल विकास संस्थाका महिलाहरुले निर्णय गरेका छन् । ‘धेरैको घरमा पुगोस् र तराइमा पनि कोदो फल्छ भन्ने सन्देश प्रवाह होस् भनेर त्यसो गरेका हौं,’ मालमतीले भनिन्, ‘मलाई कोदो राखिदिनु होला भन्दै खबर गर्नेहरु तमाम छन् । तर यसपालीको उत्पादनले माग धान्दैन ।’
कोदो बिक्रीको रकम संस्थाको खातामा राख्ने गरिएको सचिव हैकला बुढाले बताइन् । टोल विकास संस्थामा ३२ जना आवद्ध छन् । उनीहरु सबै मिलेर सामूदायिक काममा सक्रिय हुन्छन् । ‘सदस्यहरुले मासिक २० रुपैया नियमित बचत गर्छौ,’ सचिव बुढाले भनिन् । अब कोदो खेती विस्तार गर्नुका साथै प्याजको बीउ उमारेर बिक्रि गर्ने योजना बनाएको उनले बताइन् ।
कोदो एक बहुउपयोगी अन्न हो । विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि संगठनले कोदोलाई ‘पोषक भविष्यको बाली’ भनेको छ । आधुनिक समयमा कोदोको महत्व बढ्दै गएको छ । स्वास्थ्यप्रति सचेत व्यक्तिहरुले पछिल्लो समयमा कोदोलाई गहँु र चामलको विकल्पको रुपमा प्रयोग गर्न थालेका छन् ।
कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइने टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्यौपाने बताउ“छन् । ‘कोदोमा करिब ७०–७५ प्रतिशत कार्बोहाइड्रेट, ७ देखि १२ प्रतिशत प्रोटिन, प्रति १०० ग्राम कोदोमा ८–१० ग्राम फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, र पोटासियम जस्ता खनिज, यौगिक र फ्ल्याभोनोइड्स लगायत भिटामिन बी–कम्प्लेक्स (बी१, बी३, बी६) का लागि पनि कोदो राम्रो स्रोत हो,’ कृषि विज्ञ न्यौपानेले भने ‘हेपिएको रैथाने बाली भएकाले पहिला पहिला तराइका किसानहरुले लगाउँथेनन् । तर तराईको हावापानीमा कोदो उत्पादन नहुने भन्ने होइन ।’
जनस्वास्थ्य विज्ञ ज्ञानेन्द्र दवाडीका अनुसार कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, खनिज, एन्टिअक्सिडेन्टलगायतका तत्व पाउने भएकाले स्वास्थ्यका लागि कोदो बहुपयोगी हुन्छ ।
पहाडी क्षेत्रमा पाइने कागुनो, चिनो, जुनेलो बाली लगाउने चलन अहिले बसाइँसराइ“का कारण प्रभावित हुदै गएको छ । यता टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरले चिनो, लट्टे, जुनेलो जस्ता रैथाने बालीको संरक्षणका लागि विभिन्न ६४ वटा प्लट बनाएर अनुसन्धान गरिरहेको जनाएको छ । सहकर्मी समाजको सहजीकरणमा गठित त्यहाँका टोल विकास संस्थाहरुले सामूदायिक विकासका विभिन्न कार्यहरु गर्दै आएका छन् ।
प्रतिक्रिया