धनगढी । कैलालीमा केपी शर्मा ओली पक्षका प्रभावशाली नेता नारदमुनि राना ११औं महाधिवेशनको संस्थापन प्यानलमा अटाएका छैनन् । ओली टिमटमा नपरेपछि उनले स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । ‘टिमको सार्वजनिक सूचीमा नाम नदेखेपछि स्वतन्त्र रुपमा भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु,’ नारदमुनिले भने ।
राना ओलीका सदाबहार समर्थक हुन् । उनी ओली समूहमा पदाधिकारीमा दाबी गर्दै आएका थिए । तर, केन्द्रीय सदस्यमा समेत नअटाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नारदमुनि ओलीको टिममा नअटाउनुमा प्रतिनिधि छनोटमा भएको विवाद रहेको कैलाली एमालेका नेताहरु बताउँछन् । ‘ओली पक्षकै नेता दामोदर भण्डारी र कैलाली एमालेका अध्यक्ष यज्ञराज ढुंगानाले नारदमुनिलाई टिममा पर्न नदिएका हुन्,’ एमालेका एक नेताले भने, ‘प्रतिनिधि छनोटको चुनावमा नारदमुनि दामोदर र ढुंगानाविरुद्व एमाले नेता लेखराज भट्ट र कर्ण थापासंग मिलेका थिए ।’
राना २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डा. आरजु राणा देउवाललाई पराजित गरेर चर्चामा आएका नेता हुन् । ०७९ सालको निर्वाचनमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसंग पराजित भएका थिए ।
प्रतिक्रिया