निमेन्द्र शाही, बाजुरा । शनिबार बिहान गएको भूकम्पका कारण बाजुराका विभिन्न स्थानमा क्षति भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ५ दशमलव २ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पले बुढीनन्दा नगरपालिका–२ मा कल्पना बुढाको दुई तले घर पूर्ण रुपमा क्षति भएको छ । सोही नागरपालिकाको वडा नम्बर ३ मा स्थानीय धनि बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा र मानसिंह थापा भोटेको घरमा आशिंक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।
यस्तै सोही नगरपालिका वडा नम्बर ४ मा स्थानीय जनक बोहरा र वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पनि पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए । भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका– १ मा स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा क्षति भएको छ ।
प्रहरीका अनुसार बिहानदेखि भूकम्पबाट भएको क्षतिको विवरण संकलनका लागि ५५ जनाको टोली खटिएको छ । जिल्लाका अन्य स्थानमा भूकम्पका कारण भएको क्षतिको विवरण संकलनका लागि प्रहरीको टोली खटिएकाले पूर्ण विवरण आउन बाँकी छ ।
प्रतिक्रिया