ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विश्वविद्यालयले पायो उपकुलपति र रजिस्ट्रार, कुन पदमा को नियुक्त ?

मङ्गलबार २२, पुष २०८२ ०१:३५

धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिस्ट्रार पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षतामा काठमाडौंमा आज बसेको सभाको दोस्रो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको हो ।

विश्वविद्यालय सभा सदस्यसमेत रहेका गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टका अनुसार उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई नियुक्त गरिएको छ ।

यसअघि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा रहेको उपकुलपति र रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपतिमा जोशी र रजिस्ट्रारमा तीन जनाको नाम सिफारिस गरेको थियो । रजिस्ट्रारमा सिफारिस गरिएका अन्य दुई जनालाई वैकल्पिक सूचीमा राखिएको छ । उपकुलपतिमा तेस्रो पटक विज्ञापन खोलेपछि दुई जनाले आवेदन दिएका थिए । त्यसमध्ये जोशीको मात्रै आवेदन स्वीकृत भएको थियो । 

विश्वविद्यालय सभा सदस्य भट्टका अनुसार यसपछिका सिनेटका बैठक विश्वविद्यालयमै गर्ने पनि सहमति भएको छ । ‘विश्वविद्यालयका लागि बनाइएका भौतिक संरचना हस्तान्तरण गर्ने विषयमा पनि छलफल भएको छ,’ भट्टले भने, ‘ तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन तथा एमबीबीएसको अध्ययन सुरु गर्नेबारे पनि आजको बैठकमा छलफल भएको छ ।’

आजको नियुक्तिसंगै विश्वविद्यालय सभाले पूर्णता पाएको भट्टले बताए । यसअघि विश्वविद्यालय सभा सदस्य मनोनित भइसकेका छन् । सभाको पहिलो बैठकले दुई महिलासहित सात जनालाई सदस्यमा मनोनीत गरेको थियो । 

विश्वविद्यालयहरूको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्तलाई सभा सदस्यमा मनोनीत गरिएको थियो । यस्तै, विज्ञतर्फबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल, प्रा.डा. संगीताराज भण्डारीलाई मनोनीत गरिएको थियो । 

प्रतिक्रिया