धनगढी । धनगढीमा निजी क्षेत्रबाट स्थापना गरिएको एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । केयरटेकर अस्पताल प्रालिको मंगलबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा सेवाको सुरुवात गरिएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त अस्पतालका सेवा र सुविधाबारे अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले भने, ‘सरकारी अस्पतालमा भीड र निजी अस्पतालमा महंगो शुल्कको बीचमा सर्वसाधारण नागरिकलाई सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौं ।’
अध्यक्ष शाहीका अनुसार अस्पतालमा सरकारी अस्पताल सरह किफायती शुल्क लिइनेछ भने सेवा, प्रविधि र व्यवस्थापन भने निजी अस्पताल स्तरको हुनेछ । अस्पतालमा हाल एक सय शय्या क्षमता, २४सै घण्टा आकस्मिक सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक, कान, घाँटी, डेन्टल, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी र न्युरो सर्जरी, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड सेवा, संक्रमण नियन्त्रण प्रणाली, २४ सै घण्टा एम्बुलेन्स सेवासहितको सुरक्षित शल्यक्रिया कक्ष, फिजियोथेरापीलगायतका विशेषज्ञ सेवाहरु उपलब्ध हुने अस्पतालको भनाई छ ।
आगामी दिनमा नर्सिङ तथा एचएको अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया