धनगढी । नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ को पूर्ण नतिजा प्रतिवेदनअनुसार सुदूरपश्चिममा प्रति एक हजार जन्ममा २६ बालमृत्यु हुने गरेको छ छ ।
शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्यांक कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा बाल स्वास्थ्य तथा पोषणको अवस्था पनि उल्लेख छ । उक्त प्रतिवेदनअनुसार छ महिनासम्म बच्चालाई दुध खुवाउने आमाको संख्या सबैभन्दा बढी सुदूरपश्चिममा छ । सुदूरपश्चिममा ७६.५ प्रतिशत आमाहरुले जन्मेको छ महिनासम्म बच्चालाई दुख खुवाउने गरेका छन् ।
विद्युत तथा टेलिफोन पहुँचको अवस्था पनि सार्वजनिक गरिएको छ । टेलिफोन पहुँचको अवस्था पनि सात वटै प्रदेशमध्ये सुदूरपश्चिमको कमजोर छ । नेपालमा ९५.५ प्रतिशत परिवारमा टेलिफोनको पहुँच रहेकोमा सुदूरपश्चिमा सबैभन्दा कम ९२.६ प्रतिशत परिवारमा मात्रै उक्त पहुँच पुगेको छ ।
प्रतिक्रिया