ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका कारागारहरुबाट जेनजी आन्दोलनमा भागेका ३५२ कैदी अझै फरार

शुक्रबार २५, पुष २०८२ १२:१८

धनगढी । जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका सुदूरपश्चिम प्रदेशका ३५२ जना कैदीबन्दी हालसम्म फरार छन् ।

भदौ २४ गते आन्दोलनको बलमा प्रदेशका नौ वटै जिल्ला कारागारबाट भागेका मध्ये ३५२ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गर्न नसकेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार तीन सय ३३ पुरुष र १९ महिला कैदीबन्दी अहिलेसम्म पक्राउ परेका छैनन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी पक्राउ परेका छैनन् ।

कञ्चनपुर कारागारबाट भागेका ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारका १२–१२ जना, दार्चुला कारागारका ६ जना, डडेल्धुरा कारागारका ५ जना र बैतडी कारागारका एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको बलमा यहाँका कारागारहरुबाट एक हजार ४५८ जना कैदीबन्दी कारागारबाट बाहिएका थिए । जसमा १३८३ जना पुरुष र ७५ जना महिला थिए । अहिलेसम्म प्रहरीले एक हजार ९४ जनालाई भने पक्राउ गरेर कारागार फर्काइसकेको छ । प्रहरीले पक्राउ परेका मध्ये १ एक हजार ४९ जना पुरुष र ४५ जना महिला कैदीबन्दी छन् ।

सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले जेनजी आन्दोलनका बेला कारागारबाट भागेर फरार भएका कैदीबन्दीको खोजी कार्य जारी राखिएको बताए । उनले प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक र जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा फरार कैदीबन्दीको खोजीका लागि छुट्टाछुट्टै टोली गरिएको उनले बताए । ति टोलीहरुले फरार कैदीबन्दीलाई पक्राउ गर्न अभियानकै रुपमा खोजी गरिरहेको डीआईजी राना बताए ।

‘फरार कैदीबन्दी पक्राउ गर्न प्रदेश र जिल्लामा छुट्टा–छुट्टै टोली गठन गरेर खोजी गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा फरार सबैजसो कैदीबन्दीको घर ठेगानासम्म पुगेर खोजी भइसकेको छ । भेटिएका कैदीबन्दीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको छ । नभेटिएकाहरुको हकमा अहिले पनि खोजी गरिरहेका छौँ ।’

डीआईजी रानाले भारततिर भागेका कैदीबन्दीलाई समेत नियन्त्रणमा लिन भारतीय पक्षसँग समन्वय भइरहेको जनाए ।

प्रतिक्रिया