ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा एक वर्षमा ०.०२ प्रतिशत विद्युतीकरण

शुक्रबार २५, पुष २०८२ ०५:४३

धनगढी । नेपाल सरकारले उज्यालो नेपालको परिकल्पना गरी २०८३/८४ सम्म मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य सारेको बेला सुदूरपश्चिममा विद्युतीकरणले कछुवा गति लिएको छ ।

आर्थिक वर्ष २०८०/८१ बाट २०८१/८२ सुदूरपश्चिम प्रदेशमा शून्य दशमलव शून्य दुई (०.०२) प्रतिशत मात्रै विद्युतीकरण भएको हो । आर्थिक सर्वेक्षण २०८१/८२ ले प्रदेशमा ८६.६० प्रतिशत विद्युतीकरण भएको उल्लेख छ । जबकी ०८०/८१ मै  ८६.५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगिसकेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको थियो । 

विद्युत सेवा विस्तारका साथै सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादन समेतले गति लिन सकेको छैन । २०८१/८२ मा प्रदेशमा विद्युत उत्पादन नथपिएको तथ्यांकले देखाएको छ । आर्थिक सर्वेक्षणका अनुसार ०८०/८१ मा १६७ मेगावाट जलविद्युत पुगेको थियो । त्यो तथ्यांक हालसम्म स्थिर छ । 

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार प्राधिकरणको तथ्यांक अनुसार कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीकरणको काम लगभग पुरा भएको छ भने पहाडी जिल्लाहरुमा विद्युतीकरणको काम निकै सुस्तगतिमा विद्युतीकरण भइरहेको छ ।

पाँच वर्ष पहिले नेपाल सरकारले देशका सबै घरधुरीमा विद्युत सेवा पु¥याइसक्ने लक्ष्यका साथ उज्यालो नेपाल कार्यक्रम घोषणा गरेको भएपनि सुदूरपश्चिममा सो लक्ष्य पुरा भएन । प्राधिकरणको तथ्यांक अनुसार कैलालीमा ९९.१२, कञ्चनपुरमा ९९.९८, डडेल्धुरामा ९१.०३, बैतडीमा ५७.६, डोटीमा ८०.४५, अछाममा ६४.४६, दार्चुलामा ८९.६४, बझाङमा ६६.७४ र बाजुरामा २९.२४ प्रतिशत विद्युतीकरण भएको छ । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा सरकारले उज्यालो नेपाल अभियान घोषणा गरेको थियो ।

सो समयमा कैलालीमा ९५.२७, कञ्चनपुरमा ९७.५८, डडेल्धुरामा ७९.८४, बैतडीमा ३४.३६, डोटीमा ८१.१९, अछाममा ४५.३६, दार्चुलामा ४०.५८, बझाङमा २१.५८  र बाजुरामा १३.४४ प्रतिशत विद्युतीकरण भएको थियो । आठ जिल्लाहरुमा विद्युतीकरण भएपनि डोटी जिल्लामा भने घरधुरी बृद्धिको अनुपातमा विद्युतीकरण निकै कम भएकोले विद्युतीकरण प्रतिशत घटेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा ५ लाख ७६ हजार ७७२ घरधुरी छ । ति घरधुरी मध्ये तीन लाख ४५ हजार ४६३ घरधुरीमा राष्ट्रिय प्रशारणलाईनबाट विद्युत पुगेको प्राधिकरणले जनाएको छ । यस तथ्यांक अनुसार दुई लाख ३१ हजार परिवार राष्ट्रिय प्रशारणलाईनको पहुँच बाहिर छन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा चार लाख ६८ हजार ८०५ परिवारले विद्युत सेवाको पहुँच पुगेको छ । ९४ हजार ६ परिवारले सोलार, एक हजार ६४६ परिवारले मट्टितेल, २१० परिवारले वायोग्यास र १२ हजार १०५ परिवारले अन्य स्रोतबाट उज्यालो पाउने गरेका छन् । तथ्यांक अनुसार एक लाख २३ हजार ३४२ परिवारले स्थानीय लघु जलविद्युत आयोजनाबाट विद्युत प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालयले आयोजनामार्फत् दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाम जिल्लामा विद्युतीकरण गरिरहेको भएपनि सो आयोजना सम्पन्न हुन सकेको छैन । 

प्रतिक्रिया