दार्चुला । कञ्चनपुरको ब्रम्हदेवदेखी दार्चुलाको तिङ्कर नाकालाई जोड्ने महाकाली करिडोरअन्तर्गत विभिन्न नदी र खोलामा ४० वटा पुल निर्माण गर्नुपर्ने देखिएको छ । ४० मोटरेबल पुलमध्ये चालु आर्थिक वर्षमा भने दुई वटा पुल मात्रै निर्माण हुने भएका छन् ।
महाकाली करिडोरका योजना प्रमुख इश्वर कार्कीका अनुसार ३३४ किलोमिटर लम्बाइ रहेको करिडोरको विभिन्न स्थानमा ४० वटा मोटरेबल पुल निर्माण गर्नुपर्ने छ । कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला गरी चार वटा जिल्लालाई छोएको करिडोरअन्तर्गत दार्चुला जिल्लाको लास्कुघाट र निजाङ खोलामा यसवर्ष मोटरेबल पुल निर्माण गरिने उनले बताए ।
बाँकी ३८ पुलका लागि स्रोतको सुनिश्चित नभएको उनले बताए । बाँकी पुलको फाइल राष्ट्रिय योजना आयोगमै पेन्डिङमा छ ।
२०६६ सालदेखि निर्माण सुरु भएको सडक योजनाले गएको १६ वर्षमा २८४.५ किलोमिटर सडकको ट्र्याक खोलेको छ । करिडोरअन्तर्गत ४९.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।
प्रतिक्रिया