धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलालीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भुवन सिंह थापाले एक कार्यक्रमका बीच कार्यालयको औपचारिक उद्घाटन गरे ।
निर्वाचन कार्यालयका अनुसार कैलाली जिल्लामा हाल कुल ५ लाख ५१ हजार ५२ जना मतदाता रहेका छन् । सोही संख्यालाई आधार मानेर मतदान केन्द्रहरूको व्यवस्थापन गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कार्यतालिका पनि सार्वजनिक भएको छ । कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ।
त्यससँगै उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया तोकिएको समयमै सम्पन्न गरिने जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री संकलन, मतदान केन्द्रको व्यवस्थापन तथा मतपेटिका लगायत सामग्रीको तयारीलाई तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले प्रदेशभर निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
प्रतिक्रिया