ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सिफारिस नभएका र आन्तरिक चुनाव हारेकालाई पनि बनायो एमालेले उम्मेदवार

आइतबार ०४, माघ २०८२ ०७:४२

धनगढी । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवारको नाम टुंगो लगाइसकेको छ । शनिबार राति बसेको सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवारको नाम सार्वजनिक गरे ।

सार्वजनिक सूचीअनुसार सुदूरपश्चिममा कतै सिफारिस नभएका त कतै आन्तरिक चुनाव नै हारेकाले टिकट पाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर  २ मा युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंहलाई एमालेले उम्मेदवार बनाएको छ । उनी उम्मेदवार सिफारिसको आन्तरिक चुनावमा पराजित भएका थिए । त्यहाँ उम्मेदवार चयनका लागि मतदान भएको थियो । मतदानमार्फत प्रदेश कमिटी सदस्य पार्वती जोशी, अशोककुमार चन्द र नरबहादुर धामी विजयी हुँदै उम्मेदवार सिफारिस भएका थिए । जिल्ला अध्यक्ष लक्ष्मी बुढा र सिंह पराजित भएका थिए । सिंह २०७९ सालमा कञ्चनपुर २ को प्रदेश सभातर्फ (१) मा पनि पराजित भएका थिए । उनलाई माओवादीका ओमविक्रम भाटले पराजित गरेका थिए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेले अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ । तर, उनी बझाङबाट सिफारिसमै नपरेका नेता हुन् । एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्य ऐन महर, पूर्वजिल्ला कमिटी उपाध्यक्ष मोहनराज जैशी र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्रीलाई मात्रै उम्मेदवार सिफारिस गरेको थियो ।

कैलाली क्षेत्र नम्बर २ मा पूर्वजिल्ला समन्वय समिति सूर्यबहादुर थापालाई एमालेले टिकट दिएको छ । उनी पनि क्षेत्रीय कमिटीबाट सिफारिसमा परेका थिएनन् । त्यहाँवाट झपट रावल, कमलाकुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस भएको थियो ।

यस्तै कैलाली- १ मा द्वारिका न्यौपाने, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गाना एमालेबाट चुनाव लड्ने भएका छन् ।

यस्तै कञ्चनपुर १ मा कमला बोहरा र ३ मा दीपक भट्ट तथा अछाम १ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटी उम्मेदवार बन्ने भएका छन् ।

उपमहासचिव भट्टका अनुसार बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, , बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार बन्ने भएका छन् ।

सिफारिसमा परे पनि केही चर्चित अनुहारले भने टिकट पाएनन् । कर्ण थापा, तारालामा तामाङ, नारदमुनी राना, झपट रावल, नरबहादुर धामी लगायतका नेता एमाले उम्मेदवारको रोजाइमा नपरेका हुन् ।

प्रदेशसभा त्यागेर डोटीबाट चक्र मल्ल पनि उम्मेदवार बन्ने तयारीमा थिए । तर, उनले पनि टिकट पाएनन् । त्यहाँबाट अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया