ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पद्म प्रभात प्रतिष्ठान धनगढीद्वारा विविध पुरस्कार घोषणा

सोमबार ०५, माघ २०८२ ११:०८

धनगढी । पद्म प्रभात प्रतिष्ठानले भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रदान गरिने विविध पुरस्कारहरूको घोषणा गरेको छ।

विगत चार दशकदेखि भाषा, साहित्य, कला, संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय रहँदै आएका साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ को नाममा २०७९ सालमा स्थापना गरिएको प्रतिष्ठानको माघ ३ गते धनगढीमा बसेको बैठकले पुरस्कार सम्बन्धी निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार एक लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पद्म प्रभात प्राज्ञिक पुरस्कार–२०८२ भारतको उत्तराखण्ड राज्य अन्तर्गत अल्मोडा निवासी साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा संस्कृतिविद् प्रा. डा. महेश्वरप्रसाद जोशीलाई प्रदान गरिने भएको छ।

सन १९६५ देखि भारतवर्षको प्राचीन इतिहास, संस्कृति र पुरातत्व विषयमा निरन्तर अनुसन्धानमा संलग्न रहँदै आएका प्रो. डा. जोशीले मध्य हिमालय (गढवाल, कुमाउ र डोटी) क्षेत्रको इतिहास, पुरातत्व र संस्कृति सम्बन्धी १०० भन्दा बढी शोधपत्र तयार गर्नुका साथै नेपाल–भारत हिमाली भू–खण्डको पाषाणकालीन प्राग इतिहास, पुरातत्व तथा भाषा उद्भव र विकास विषयमा दर्जनौँ अनुसन्धानात्मक कृतिहरू प्रकाशन गरेका छन् । साथै उनले उत्तराखण्डमा २४ वर्षसम्म चलेको गोर्खा शासन विषयमा गहन खोज–अन्वेषण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय प्राज्ञिक योगदान पुर्‍याएको प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरिले जानकारी दिए।

यसैगरी, प्रतिष्ठानद्वारा स्थापित पद्म प्रभात पत्रकारिता पुरस्कार–२०८२ सुदूरपश्चिममा लामो समयदेखि खोज पत्रकारितामा सक्रिय पत्रकार डी.आर. पन्त (डडेल्धुरा) र युवा पत्रकार गोविन्द रोस्यारा (कैलाली) लाई प्रदान गरिने भएको छ। 

त्यसैगरी, भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार कवि तथा साहित्यकार हिरा भट्ट (बैतडी) लाई प्रदान गरिने घोषणा गरिएको छ।

उक्त पुरस्कारहरू साहित्यकार श्रेष्ठप्रिया पत्थर, महाकाव्यकार मनिराज जोशी र साहित्यकार गणेशराज जोशी सदस्य रहेको छनोट समितिको सिफारिसका आधारमा घोषणा गरिएको हो । प्रतिष्ठानका अनुसार सबै पुरस्कारहरू २०८२ सालको चैत्र नवरात्रिका अवसरमा औपचारिक रूपमा समर्पण गरिनेछ ।

प्रतिक्रिया