काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवारको समग्र संख्यासँगै युवा उमेर समूहको सहभागिता र उत्साह उल्लेख्य रूपमा देखिएको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना उम्मेदवार (१६.७३ प्रतिशत) चुनावी प्रतिस्पर्धामा छन्, जुन अघिल्ला निर्वाचनको तुलनामा उल्लेख्य वृद्धि मानिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो तथ्यांकले युवामा राजनीतिप्रति बढ्दो चासो र परिवर्तनको चाहना झल्काउँछ। लामो समयदेखि अनुभवी र स्थापित नेताकै वर्चस्व रहँदै आएको राजनीतिमा यसपटक युवाले आफ्ना मुद्दा, एजेन्डा र नेतृत्व क्षमतासहित बलियो उपस्थिति जनाएका छन्।
युवाको सक्रियतासँगै राजनीतिक दलहरूको दृष्टिकोणमा पनि आंशिक परिवर्तन देखिएको छ। अधिकांश दलहरूले तुलनात्मक रूपमा युवालाई उम्मेदवारका रूपमा अघि सारेका छन्। विशेषगरी संगठन विस्तार, सामाजिक सञ्जालमार्फत जनसम्पर्क, स्थानीय मुद्दाको उठान र चुनावी अभियानको नेतृत्वमा युवालाई प्राथमिकता दिएको देखिन्छ।
३६ देखि ५० वर्ष उमेर समूह पनि संख्यात्मक रूपमा अग्रस्थानमा छ । युवा उमेर समूहको बढ्दो उपस्थितिले आगामी दिनमा राजनीतिक नेतृत्व हस्तान्तरणको संकेत दिएको विश्लेषण गरिन्छ। युवाको यो उत्साह र सहभागिताले निर्वाचन परिणाम मात्र होइन, दीर्घकालीन रूपमा नेपाली राजनीतिक संस्कृतिमा पनि नयाँ बहस र परिवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ।
समग्रमा, प्रतिनिधिसभा निर्वाचन २०८२ अनुभव र युवाको मिश्रण का रूपमा देखिँदै गएको छ, जहाँ युवाको उत्साहले राजनीतिक मैदानलाई थप गतिशील बनाएको छ।
प्रतिक्रिया