ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अन्ततः धनगढीबाटै चल्यो डीडीसीको कारखाना

मङ्गलबार १३, माघ २०८२ ०२:३२

धनगढी । दुग्ध विकास संस्थान (डीडीसी) को कैलालीको अत्तरियास्थित दुग्ध विकास आयोजना धनगढी सारेर उत्पादन शुरु गरेको छ ।

लामो समयसम्म अत्तरियामा तालाबन्दी, आन्दोलन र आयोजनाका लागि जग्गाको खोजी भएपनि डीडीसीले खोजेको जस्तो जमीन उपलब्ध नभएकाले आयोजनाको कार्यालय र खारखाना धनगढी सारिएको हो । आयोजनालाई धनगढी–१५ कनरीमा सार्न सात महिनाको उल्झनपछि डीडीसीले अन्ततः धनगढीमा आयोजना सारेर पुस ३० गतेबाट उत्पादन, संकलन, वितरण र प्रशासनिक कार्य गर्न थालेको छ ।

गत पुस १४ गते कार्यालय सारीसकेपछि कारखाना सार्न लाग्दा अवरोध भएपनि डीडीसीले सबै मेसिन र कार्यालय धनगढी सारेर उत्पादन थालेको छ । धनगढी उपमहानगरपालिकाको वडा नं. १५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदाममा कार्यालय र उद्योग सारेर उत्पादन र संकलन काम पुस ३० गतेबाट शुरु भएको डीडीसीले जनाएको छ ।

अहिले धनगढीबाट डीडीसीले पूर्ण क्षमतामा उत्पादन शुरु गरिसकेको डीडीसीका आयोजना प्रमुख निरन्जन भट्टराईले बताए । उनले दुग्ध संकलन समेत धनगढीबाटै भइरहेको बताए । ‘अहिले कारखाना व्यवस्थापन सुधार लगायतको काम भइरहेको छ,’ उनले भने, ‘कारखाना व्यवस्थापन सुधार गर्दै उत्पादन समेत बढाउँदै लग्ने योजना छ ।’

अत्तरियाका स्थानीयलाई अत्तरियाबाट आयोजना धनगढी सारिएमा स्थानीय रोजगारी गुम्ने आशंका थियो । तर, डीडीसीले आयोजना धनगढी सारेको भएपनि अत्तरियामा दिइएको सबैलाई रोजगारी पनि निरन्तरता दिएको छ । ‘अत्तरियामा कारखाना हुँदा ३÷४ जना स्थानीय रोजगारमा थिए,’ आयोजना प्रमुख भट्टराईले भने, ‘रोजगार कटौती कसैको पनि भएको छैन ।’

अत्तरियाका बासिन्दा र केही जनप्रतिनिधिहरुले अत्तरियाबाट डीडीसीको खारखान सार्न नहुने माग गर्दै आयोजना स्थानान्तरणमा बाधा गर्दै आएका थिए । तर, उनीहरुले भने जस्तै डीडीसीलाई जमीन उपलब्ध नभएपनि धनगढी सार्नुको विकल्प थिएन । धनगढी उपमहानगरपालिकासंग भएको सम्झौतानुसार डीडीसीले गतआर्थिक वर्षमै कारखाना र कार्यालय धनगढी सार्ने गरी संरचनाहरु निर्माण गरिसकेकेको थियो । आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार गत जेठमै सार्ने तयारी भइरहेको बेला जेठ ८ गते अत्तरियाबासी र जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका थिए ।

जसले गर्दा चार महिनासम्म डीडीसीको प्राशासनिक काम चार महिना अवरुद्ध भएको थियो भने लामो समयसम्म किसानले दुधको मुल्य भुक्तानी पाउन सकेका थिएनन् । दशैं नजिकिदै गर्दा सर्वपक्षीय छलफलपछि कार्यालयमा लगाएको तालाबन्दी खुलेको थियो ।

सो सहमती अनुसार अत्तरियामा पुनः जमीन खोजिएपनि उपलब्ध नभएपछि डीडीसीले पुसमा पुनः कार्यालय र खारखाना धनगढीमै सार्ने निर्णय गरी कार्यालय सारेर खारखाना सार्न थालेको थियो । केही मेसिनहरु सारिसकेर अर्को मेसिन लोड गर्न लाग्दा पुस १४ गते स्थानीयले कारखानामै तालाबन्दी गरेका थिए । जसले गर्दा डीडीसीको उत्पादन नै बन्द हुने अवस्था आएको थियो । तर तालाबन्दी गर्ने स्थानीयले पछाडीको धोकाबाट काम गर्न खुला गरेपछि डीडीसीको नियमित उत्पादन बन्द हुन पाएको थिएन ।

संस्थानको कारखानाका लागि अत्तरियामा लामो सयमसम्म जमीन खोज्दा उपयुक्त जमीन नपाएपछि धनगढी उपमहानगरपालिकासंग सम्झौता गरी कारखाना सार्नका लागि ८ लाख रुपैयाँ खर्च गरी धनगढी–१५, कनरीस्थित जडिबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि आवश्यक फाउण्डेशन बनाएको थियो । बजार भन्दा सस्तो दरमा भाडा भवनसहित ठाउँ पाएपछि डीडीसीले उक्त आयोजना धनगढी सारेको हो । 

डीडीसीले यस खारखानाबाट तयारी दुध, दही, मही, घ्यु, पनिर, आइक्रिम, लस्सी लगायत दुग्धजन्य उत्पादन गरी आफ्नो विक्री केन्द्रहरुबाट मार्फत् विक्री गर्दै आएको छ । सो कारखानामा दैनिक तीन सय लिटर दुध खपत गर्छ । संकलन भएका मध्ये बाँकी दुध आयोजनाले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ ।

प्रतिक्रिया