बझाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारी भुक्तानी लिएको पाइएको छ ।
नभएको कामलाई पनि भएको भनी देखाइएको र सामाजिक सुरक्षा कर, बहाल कर लगायतका शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम समेत विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको अख्तियारले चार्जसिटमा उल्लेख गरेको छ । आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्ट विरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध समेत मुद्दा दर्ता गराउँदै आयोगले जनही २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गरेको छ । पाँचै जनालाई आयोगले कैद र जरिवानाको माग समेत गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाए ।
प्रतिक्रिया