धनगढी । चालु आर्थिक वर्षको पाँच महिना सकिएको छ । आर्थिक वर्ष ०८१/८२ सुरु भएको ६३ दिनपछि बजेट ल्याएको सुदूरपश्चिम सरकार बजेट खर्चमा झन पछाडि छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा पुँजीगत खर्च एक अर्ब ३२ करोड ३६ लाख अर्थात् सात प्रतिशत मात्रै छ । त्योमध्ये एक अर्ब गत वर्ष गरिएको कामको भुक्तानी दिँदा भएको खर्च हो ।
सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहन कुँवरका अनुसार एक अर्बभन्दा बढी गत वर्षदेखि कार्यान्वयनमा रहेको योजनाको भुक्तानी हो । उनले भने, ‘चालु आर्थिक वर्षको खर्च हुने कुरै छैन । बजेट पनि ढिला आयो । भर्खर प्रक्रिया सुरु हुँदैछ ।’
प्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेकोमा चालु आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ । चालुतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकामा मंसिरसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
बजेट कार्यान्वयनमा सधैँ कमजोर
सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म आठ वटा बजेट ल्याएको छ । बजेटको आकार सुरुवातदेखि लगभग उस्तै छ । आर्थिक बर्ष २०७४/०७५ मा तीन महिनका लागि प्रदेश सरकारले एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याएको थियो । त्यो वर्ष ७६ करोड ६ लाख खर्च भएन ।
आर्थिक बर्ष २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले १० अर्ब ९० करोड २२ लाख खर्च गर्न सकेन । आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएकोमा १० अर्ब ४७ करोड खर्च भएको थिएन ।
आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रस्तुत गरिएकोमा ११ अर्ब ४९ करोड ९५ लाख खर्च भएको थिएन । आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाखको बजेट प्रस्तुत गरिएको थियो । १० अर्ब ५० करोड ९४ लाख खर्च भएन ।
आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याइएकोमा १० अर्ब ९३ करोड पाँच लाख खर्च भएको थिएन । गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याइएकोमा १० अर्ब ६६ करोड ८० लाख खर्च भएको थिएन ।
प्रदेश सरकारले ल्याएका सात वटा बजेटको कार्यान्वयन अवधि सकिदासम्म ६७ अर्ब बजेट खर्च गर्न सकेको छैन ।
प्रतिक्रिया