धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली–५ मा चुनावी सरगर्मी बढ्दै गएको छ । यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
कैलाली– ५ बाट उम्मेदवार बनेका आले पछिल्ला केही हप्तादेखि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँ, टोलटोल तथा बस्तीबस्तीमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् ।
आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटाको विश्वविद्यालयमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् ।
त्यसैगरी उनले धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया–दीपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन् ।
प्रतिक्रिया