ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जब बाजुरामा बालेन पुगेको रास्वपाकै उम्मेदवारले पत्तो पाएनन्...

शनिबार १७, माघ २०८२ ०१:००

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिममा चार दिन बिताए । चार दिनको अवधिमा उनी नौ जिल्लामै पुगे । प्रदेशका १६ वटै निर्वाचन क्षेत्र पुगेर आफ्ना पार्टीका लगभग सबै उम्मेदवार भेटेका थिए, उनले । 

तर, रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराज थापाले भने बालेन जिल्ला पुगेको पत्तै पाएनन् । ‘प्रीय बालेन, तिमी बाजुरा आएको मैले दुई दिनपछि थाहा पाए,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चार र सडकको पहुँचबाट टाढा रहेको मेरो जिल्लाको हिमाली पालिकाका हिउँले ढाकिएका घाँटीहरु छिचोल्दै गर्दा तिमी मेरो सचिवालय मार्तडिमा पुगेछौं । म तिमीलाई स्वागत गर्न आउन सकिन । अहिले यो सन्देश म हुम्ला जिल्लाको मोबाइल नेटवर्कबाट लेख्दै छु । बालेन तिमी निकट भविष्यमा प्रधानमन्त्री बन्दै छौ, अब मेरो जिल्लाका नागरिकले फेरि यस्तो दुख कहिल्यै भोग्न नपरोस है ।’ 

चुनावी अभियानका क्रममा बालेन बिहीबार बाजुरा पुगेका थिए । जिल्ला सदरमुकाम मार्तडीमा उनी ५ मिनेट मात्र बसे । शाहका लागि मार्तडीमा खानाको व्यवस्था गरिएको थियो । तर, उनी खानासमेत नखाएर फिर्ता भएका थिए । रास्वपा बाजुराका सभापति नवराज जैशी पनि बालेन पुग्दा मार्तडी थिएनन् । ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार हेमराज थापाज्यूसंगै म पनि हिमाली गाउँपालिका थिए,’ जैशीले भने, ‘उहाँ बाजुरा आउने टुंगो नभएकोले हामीले भेट्न पाएनौं । उहाँ (बालेन) उम्मेदवारको सचिवालयमा पुगेर फर्किनुभएको हो ।’ बालेन बाजुरा पुग्दा उनलाई हेर्नेको ठुलो भीड थियो ।

प्रतिक्रिया