धनगढी । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कैलाली क्षेत्र नम्बर ४ मा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । अत्तरिया–धनगढी रोडस्थित कार्यालयको उद्घाटन एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै उम्मेदवार भट्टले कैलाली–४ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने स्पष्ट पार्दै अन्य प्रतिस्पर्धीलाई पनि कमजोर ठान्न नहुने बताए । उनले आफ्नो उम्मेदवारी केवल एक क्षेत्रको सीमामा नअड्किने र त्यसको प्रभाव समग्र सुदूरपश्चिमको राजनीतिक भविष्यसँग जोडिएको दाबी गरे ।
भट्टले यस निर्वाचनमार्फत सुदूरपश्चिममा एमालेको निर्णायक उपस्थिति सुनिश्चित हुने उल्लेख गर्दै प्रदेशभर एमालेले १२ सिट जित्ने आत्मविश्वास व्यक्त गरे ।
कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशंकर योगी, नवनिर्वाचित राष्ट्रियसभा सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मा लगायत नेताहरूको सहभागिता थियो ।
क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै एमालेले संगठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । कैलाली–४ मा एमालेले प्रतिनिधिसभा उम्मेदवारका रूपमा भट्टलाई अघि सारेको छ ।
यसैबीच, केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको उपसचिवमा भागिरथी बिष्ट र सचिवमा गणेश साउँद चयन भएका छन् ।
प्रतिक्रिया