धनगढी । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकोमा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कर्णाली प्रदेशमा पनि फैलिने र विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने छ । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ । मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो ।
प्रतिक्रिया