ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा छ पदका लागि ३० जनाको मनोनयन, कहाँ को बन्यो उम्मेदवार ?

आइतबार ०२, मङि्सर २०८१ ०५:५६

धनगढी । सुदूरपश्चिममा छ पदमा हुने उपनिर्वाचनका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि ३० जनाको उम्मेदवारी परेको हो ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार काँग्रेसबाट टीका कुमारी चौधरी भूल र नागरिक उन्मुक्ति पार्टीबाट रुकमती डगौरा थारुले मनोनयन दर्ता गराएका हुन् । काँग्रेसकी चौधरी कैलारी गाउँपालिका– २ मा वडा सदस्य छिन् भने नागरिक उन्मुक्तिकी डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । नेकपा एमालेले भने मनोनयन दर्ता गराएको छैन । नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले मनोनयन दर्ता नगरेको बताउँदै सत्ता साझेदार दल नेपाली काँग्रेसलाई सहयोग गर्ने जानकारी दिए । 

१३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल २६ मत छ । टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह जग्गा घोटाला काण्डमा निलम्बित भएपछि २५ जनाले मतदान गर्न पाउने छन् । यहाँ काँग्रेससँग आठ, नागरिक उन्मुक्ति पार्टीसँग सात, एमालेसँग पाँच, माओवादीसँग तीन, नेकपा एकीकृत समाजवादीसँग एक र स्वतन्त्र एक गरी २५ मत छ । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको ०७९ पुस २३ गते निधन भयो । सोही दिनदेखि समन्वय प्रमुखको पद रिक्त छ । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पाँच दलका पाँच जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा (माओवादी केन्द्र)बाट राजुकुमारी विक, नेकपा (एकीकृत समाजवादी)बाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् । गत वर्षको माघ पहिलो सातास्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।

जोशीको क्यान्सरका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

चार वडा अध्यक्षमा २३ जनाको उम्मेदवारी
दार्चुलाको दुहु गाउँपालिका–५ को वडा अध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार नेपाली काँग्रेसबाट धनसिंह कुँवर, नेकपा एमालेबाट मानसिंह बडाल, माओवादी केन्द्रबाट बीरसिंह कार्की र लालबहादुर कुँवरको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो । 

यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट डिबीलाल थापा, नेकपा एमालेबाट देवबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी खड्का कुँवरको उम्मेदवारी परेको छ । त्यहाँ काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएको थियो । 

बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए । उनका अनुसार नेपाली काँग्रेसबाट धीरेन्द्र पुजारा, माओवादी केन्द्रबाट पुष्करबहादु बोहरा र नेकपा एमालेबाट लक्षीचन्द्र बोहराको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको जेठ २०८० मा मृत्यु भएपछि उपनिर्वाचन भइरहेको हो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । काँग्रेसका प्रकाश चन्द, नेकपा माओवादीका नानाराम कोली, एमालेका बहादुर चन्द र स्वतन्त्र युवराज चन्दसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ काँग्रेसबाट निर्वाचित महेन्द्र खड्काको पुस २०८० मा मृत्यु भएको थियो ।
 

प्रतिक्रिया