ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखक मैदान बाहिर हुँदा कञ्चनपुर–३ मा कसको पल्ला भारी ?

बिहिबार ०७, फागुन २०८२ १२:३०

धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखकको गृह क्षेत्र हो, कञ्चनपुर– ३ । ०५६ सालदेखि संसदीय राजनीतिमा सक्रिय लेखक २०६४ को संविधानसभा निर्वाचनबाहेक हरेक पटक सोही क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए । तर, यसपटक कांग्रेसले लेखकलाई मैदानमा उतारेको छैन । हुन् त उनी यसपटक पनि निर्वाचन लड्न चाहन्थे । तर, विशेष महाधिवेशनमार्फत आएको कांग्रेसको नेतृत्वले उनलाई टिकट दिएन । उनको सट्टा पूर्वजिल्ला सभापति हरिप्रसाद बोहोरालाई टिकट दिइएको छ ।

उनी चुनावी मैदानमा नहुँदा कञ्चनपुर क्षेत्र नम्बर ३ ले यसपटक कसलाई रोज्ला भन्ने चर्चा छ । लेखकले टिकट नपाउँदा उनी पक्षधर कार्यकर्ताहरू रुष्ट थिए । तर, लेखक आफै बोहराको चुनावी अभियानमा सहभागी हुन थालेपछि भने कांग्रेसभित्रको असन्तुष्टि केही घटेको अनुमान गरिएको छ । लेखक आफू कतै नगएको र कांग्रेसको राजनीतिमा सक्रिय नै रहेको भन्दै बोहरालाई मत मागिरहेका छन् । कांग्रेस उम्मेदवार बोहराले निर्माणाधीन सुक्खा बन्दरगाहलाई पूर्णता दिने, धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, पर्यटकलाई आकर्षित गर्न महाकालीमा डुंगा सञ्चालन गर्ने, ब्रह्मदेव क्षेत्रमा निजी क्षेत्रसँग कुरा चलाएर केबलकार सञ्चालन गर्ने, चीनसँग जोड्ने गरी महाकाली करिडोरलाई पूर्णता दिने लगायतका एजेण्डा अगाडि सारेका छन् ।

एमालेले कञ्चनपुर– ३ मा डा. दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ । भट्ट २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा लेखकलाई पराजित गर्न सफल भएका थिए । भट्ट बौद्धिक र शालीन नेताका रुपमा आफ्नो क्षेत्रमा परिचित छन् । तर, युवा मतदातामा एमालेप्रति देखिएको असन्तुष्टि मिलाउन भने भट्टलाई पनि सकस छ । एमाले उम्मेदवार भट्टले जोगबुढा नदीको तटबन्ध निर्माणलाई पूर्णता दिने, महाकाली नदीमा पक्की तटबन्ध बनाउनुका साथ चक्रपथ बनाउने, रौटेला नदीमा बाढी नियन्त्रणको योजना कार्यान्वयन गर्ने । मझगाउँ विमानस्थल सञ्चालन गर्ने लगायतका एजेन्डा अगाडि सारेका छन् । 

यस्तै, नेपाल कम्युनिस्ट पार्टीबाट मानबहादुर सुनार पनि प्रतिस्पर्धामा छन् । उनी सुदूरपश्चिम प्रदेश सरकारका पूर्वकृषि राज्यमन्त्री हुन् । ०७४ मा प्रदेशसभा जितेका सुनारको केही क्षेत्रमा व्यक्तिगत प्रभाव बलियो छ । तर, सिंगो निर्वाचन क्षेत्रमा भने नेकपा सांगठनिक रुपमा पनि कमजोर देखिन्छ । नेकपाका उम्मेदवार सुनारले भीमदत्त र बेदकोटमा खहरे खोलाको बाढी नियन्त्रण गर्ने, सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालन गर्ने, मझगाउँ विमानस्थल पनि नमूना विमानस्थलका रूपमा निर्माण गर्ने योजना अगाडि सार्दै भोट मागिरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता पृष्ठभूमि भएका ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ । रास्वपामा ढल्कदै गएको चुनावी लहर र पुराना दलहरुप्रतिको असन्तुष्टिलाई महताले आसन्न निर्वाचनमा जित निकाल्ने आधार देखिरहेका छन् । कांग्रेसबाट लेखक चुनावी मैदानमा नहुनु तथा एमालेभित्रको असन्तुष्टिले रास्वपाका उम्मेदवारलाई फाइदा पुग्ने देखिन्छ ।

०७९ सालको निर्वाचनमा सो क्षेत्रमा रमेश लेखकले ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए । एमालेकी निरुदेवी पालले भने १८ हजार ४८५ मत ल्याएकी थिइन् । समानुपातिक मत नेपाली कांग्रेसले २० हजार ५ सय ७१ ल्याएको थियो । यस्तै नेकपा एमालेले ११ हजार ८ सय १६, राप्रपाले ६ हजार २६, रास्वपाले ४ हजार ९ सय मत ल्याएको थियो। माओवादी केन्द्रले ४ हजार ४ सय ६२ मत ल्याएको थियो । 

कञ्चनपुर– ३ मा दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिकाका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट कर्णबहादुर चन्द उम्मेदवार छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट गंगादत्त जोशी, मितेरी पार्टी नेपालबाट किरन थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विष्णु प्रकाश उपाध्याय, उज्यालो नेपाल पार्टीबाट भिमबहादुर कुमाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट लोकराज भट्ट, आम जनता पार्टीबाट लक्ष्मी कुमारी विष्ट भट्ट उम्मेदवार छन् । यहाँ थानेश्वर लेखक, वीर सिंह क्षेत्री र हर्कबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
 

प्रतिक्रिया