ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम हामी बनाउँछौं भन्दै रवि-बालेनले दिन खोजेको सन्देश मतदाताले पत्याउलान् ?

बिहिबार ०७, फागुन २०८२ ०८:१४

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परिवर्तन उद्घोष सभा गर्‍यो । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिका– १ स्थित सुदूरपश्चिम महोत्सव लाग्ने मैदानमा भएको सभामा उत्साजनक सहभागिता थियो । प्रदेशस्तरीय सभामा सुदूरपश्चिमका नौ जिल्लाबाटै सहभागिता थियो । सभालाई प्रदेशमा रहेका १६ प्रतिनिधिसभा उम्मेदवारमध्ये १० तथा समानुपातिकतर्फका दुई जना उम्मेदवारले सम्बोधन गरे ।

प्रत्येक्षतर्फका उम्मेदवार ज्ञानेन्द्र महता (कञ्चनपुर–३), खेमराज कोइराला (कैलाली–४), जगतप्रसाद जोशी (कैलाली– ३), कोमल ज्ञवाली (कैलाली १), हरिमोहन भण्डारी (बैतडी), डा. तारा जोशी (डडेल्धुरा), नरेन्द्र खड्का (डोटी), केपी खनाल (कैलाली–२), डा. आनन्दबहादुर चन्द (कैलाली–५) र भूपदेव शाह (अछाम–२) तथा समानुपातिकतर्फका उम्मेदवार गीता चौधरी र विजयी जैरुले सभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सबै उम्मेदवारले सुदूरपश्चिमलाई पुराना भनिएका दलहरुले दूर बनाएको र अब समृद्ध बनाउने आश्वासन बाडेका थिए ।

सभामा सम्बोधनका लागि पुगेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सुदूरपश्चिम अब आफ्नो पार्टीले बनाउने दाबी गरे । उनले सम्बोधनको सुरुवात डोटेली भाषाबाट गरे । चुनावमा सुदूरपश्चिमको साहनुभुति पाउनका लागि शाहले डोटेली भाषामार्फत सम्बोधनको सुरुवात गरेको आकलन गरिएको छ । ‘बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको,’ शाहले भने, ‘त्यो सपना पूरा गर्ने हो । त्यो पूरा गर्ने पार्टी रास्वपा हो ।’ सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउने एजेण्डा आफूहरुको भएको दाबी शाहले गरे । ‘तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ,’ उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो । हाम्रो उम्मेदवारहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ ।’

सम्बोधनका क्रममा शाहले सुदूरपश्चिम थुप्रै सम्भावनाको खानी भएको पनि आशय व्यक्त गरे । ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विजरल्यान्डको बाउ बडीमालिका यहीँ छ किन बनाउनुप¥यो स्विजरल्यान्ड ?,’ उनले भने, ‘स्विजरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ । खप्तड नेशनल पार्क यहीँ छ । हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू प¥यौँ । भएको चिज देखाउनै सक्या छैन ।’ सुदूरपश्चिम अहिलेसम्म पनि केन्द्रसंग जोडिएको तर्क उनको थियो । ‘सुदूरपश्चिमलाई जोड्नै सकिएको छैन,’ उनले भने, ‘सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदोरहेछ । आठ लाख सब्स्क्राइबर भएको, १ मिलियन सब्स्क्राइबर भएको । तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग ।’

बालेनले सभामा आफ्नो एजेण्डा पनि सुनाए । खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनपर्ने, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनपर्ने एजेण्डा आफूहरुको भएको दाबी उनको थियो । ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन,’ उनले भने, ‘डेढ वर्षमा बन्नुप¥यो । त्यो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ । बाटो बन्नुप¥यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने भन्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ र माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।’

बालेन जस्तै रास्वपा सभापति रवि लामिछानेले पनि सम्बोधनको सुरुवात डोटेली भाषाबाटै गरे । ‘ढोक दिया सुदूरपश्चिम, निका छौं,’ भन्दै उनले सम्बोधनको थालनी गरेका थिए । कार्यक्रममा सुदूरपश्चिमका नागरिकको अधिकार र मुद्धालाई माग बनााएर वर्षाैसम्म अल्झाउन काम अब बन्द हुनुपर्ने बताए । ‘सटर त एउटा बन्द हुनुपर्छ,’ उनले भने, ‘के हाम्रो बन्द हुनुपर्छ, के यीनको । कुशासनको, बेथिती, बेरोजगारी र अशिक्षाको सटर बन्द गर्ने हो । २१ गते इतिहास रच्ने हो ।’

फागुन २१ गते भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको दाबी उनको थियो । उनले जनताको मागलाई घोषणापत्रमा लेख्ने युगलाई बन्द गर्नुपर्ने बताए । ‘जनताको माग हो, पूरा गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षको स्थायी सरकार मागेका छौं । पहिलोपटक कुनै राजनीतिक दलले जनतासंग सम्झौता गरेको छ ।’ उनले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताए । ‘जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि भोट दिने जनताले पाउने छ,’ उनले भने, ‘अब यस्तो चल्दैन । वाचा पूरा नगर्नेले सजाय पाउनुपर्छ ।’

प्रतिक्रिया