धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परिवर्त उद्घोष सभा ग¥यो । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिका– १ स्थित सुदूरपशिचम महोत्सव लाग्ने मैदानमा भएको सभामा उत्साजनक सहभागिता थियो ।
कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सुदूरपश्चिम अब आफ्नो पार्टीले बनाउने दाबी गरे । उनले सम्बोधनको सुरुवात डोटेली भाषाबाट गरे । चुनावमा सुदूरपश्चिमको साहनुभुति पाउनका लागि शाहले डोटेली भाषामार्फत सम्बोधनको सुरुवात गरेको आकलन गरिएको छ । ‘बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको,’ शाहले भने, ‘त्यो सपना पूरा गर्ने हो । त्यो पूरा गर्ने पार्टी रास्वपा हो ।’ सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउने एजेण्डा आफूहरुको भएको दाबी शाहले गरे । ‘तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ,’ उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो । हाम्रो उम्मेदवारहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ ।’
सम्बोधनका क्रममा शाहले सुदूरपश्चिम थुप्रै सम्भावनाको खानी भएको पनि आशय व्यक्त गरे । ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विजरल्यान्डको बाउ बडीमालिका यहीँ छ किन बनाउनुप¥यो स्विजरल्यान्ड ?,’ उनले भने, ‘स्विजरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ । खप्तड नेशनल पार्क यहीँ छ । हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू प¥यौँ । भएको चिज देखाउनै सक्या छैन ।’ सुदूरपश्चिम अहिलेसम्म पनि केन्द्रसंग जोडिएको तर्क उनको थियो । ‘सुदूरपश्चिमलाई जोड्नै सकिएको छैन,’ उनले भने, ‘सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदोरहेछ । आठ लाख सब्स्क्राइबर भएको, १ मिलियन सब्स्क्राइबर भएको । तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग ।’
बालेनले सभामा आफ्नो एजेण्डा पनि सुनाए । खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनपर्ने, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनपर्ने एजेण्डा आफूहरुको भएको दाबी उनको थियो । ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन,’ उनले भने, ‘डेढ वर्षमा बन्नुप¥यो । त्यो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ । बाटो बन्नुप¥यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने भन्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ र माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।’
प्रतिक्रिया