ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा अब प्रत्येक शनिबार महिला उद्यम बजार

सोमबार ०३, मङि्सर २०८१ ०८:२२

धनगढी । धनगढीको पार्कमोडमा प्रत्येक शनिबार शनिबार महिला उद्यम बजार सञ्चालन हुने भएको छ । सीप भएका र व्यवसाय गर्न चाहने महिलालाई आयआर्जनसँग जोड्नका लागि उपमहानगरपालिकाको आयोजनामा गत शनिबारबाट उद्यम बजार सुरु भएको हो ।

बजारमा महिलाले आफूहरुले उत्पादन गरेका सामानहरु स्टल राखेर बिक्री गर्न सक्ने छन् । शनिबारीय बजारको पहिलो दिन दुना, टपरी, सेनेटरी प्याड, झोला, ढकिया, बेतबाँसका सामान, च्याउ, अचार, खानाका स्थानीय परिकारलगायतका ६० वटा स्टल राखिएका थिए ।

प्रत्येक शनिबार दिउँसोदेखि बेलुकासम्म शनिबारीय महिला उद्यम बजार सञ्चालन हुने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए । घरमा सामान उत्पादन गरे पनि बिक्रीको समस्या भोग्दै आएका महिला उद्यम बजारबाट लाभ लिनसक्ने उनले बताए । शनिबारीय बजारमा सहभागी हुन चाहने महिलाको माग आए स्टल संख्या थप्न सकिने उपमहानगरले जनाएको छ ।

विभिन्न सामान उत्पादनको सीप भएका तर आर्थिक अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकेका महिलालाई लक्षित गरेर मेलाको सुरुवात गरिएको धनगढीका उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । शनिबारीय महिला उद्यम बजारले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उनको भनाइ छ ।

मेलामा स्टल राखेका महिलाहरुले आफूले उत्पादन गरेका सामान बिक्री गर्न सहज हुने विश्वास गरेका छन् । घाँसबाट ढकिया, पन्टोक्नी, ढकलीलगायत घरायसी प्रयोगका सामान निर्माण गर्दै आएकी धनगढी–५, जाइकी अनुकुमारी चौधरीलाई सामान बिक्रीका लागि बजारीकरणको समस्या थियो । उनले आफै लगानी गरेर पसल राख्न सकेकी छैनन् । 

‘पसलका राख्नका लागि पैसा छैन, चिनजानका आधारमा घरबाटै सकेजति सामान बिक्री गर्छु,’ चौधरीले भनिन्, ‘अब उद्यम बजार स्टल राख्न पाएपछि सामान बिक्री बढ्ने आशा गरेकी छु ।’ सामानको बिक्री बढेपछि आयआर्जनबाट जीवन निर्वाह गर्न पनि सहज हुने उनको आशा छ ।   

धनगढी हसनपुरकी दिप्ती भण्डारी मेलामा स्टल राख्न पाएपछि उत्साहित छिन् । तालिम लिएर घरमा केराका सामान र दुनाटपरी उत्पादन गरे पनि उनलाई उत्पादित सामान बिक्रीलाई समस्या थियो । उनले मेलामा स्टल राखेपछि व्यवसायीक चिनजानसँगै कारोबार बढ्ने आश गरेको उनले बताइन् । 

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले शनिबारीय बजारको सुरुवात गरिएको बताए । ‘महिलाहरुलाई घरबाट बाहिर ल्याएर आत्मबल बढाउने र व्यवसायमा संलग्न गराउन खोजेका हौँ’ हमालले भने, ‘उद्यमी बन्न चाहनेका लागि यो राम्रो अवसर हो ।’

बेरोजगार युवायुवतीलाई लक्षित गरेर धनगढी उपमहानगरले रात्रीकालीन बजार सञ्चालन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए । विभिन्न संघसंस्थाहरुले तालिम दिए पनि तालिम लिएका सबैले लगानीको अभावमा व्यवसाय सञ्चालन गर्न नसक्ने भएकाले शनिबारीय बजार सुरु गरिएको बताए । 
 

प्रतिक्रिया