धनगढी । यसअघिका निर्वाचनसम्म खुरुखुरु मतदान गर्ने मतदाताहरुमा यसपाली फरक चेतना देखिएको छ । दार्चुला, दाङ र ओखलढुंगा केही मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन् ।
उनीहरुले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको मतदान प्रक्रियामा सहभागी नभएको बताएका छन् । मतदाताले मतदान गर्न अस्वीकार गरेपछि ती केन्द्रहरूमा मतदान ठप्प छ ।
दार्चुला जिल्लाका दुई वटा मतदान केन्द्रमा बिहानैदेखि एक जना पनि मतदाता मतदानका लागि उपस्थित भएका छैनन् । दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नौगाढ गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका–३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाताहरू आएका छैनन् ।
६०२ मतदाता रहेको गौरीशंकर मावि र ३४६ मतदाता रहेको झुक्सु केन्द्रमा निर्वाचन टोलीले सबै तयारी पूरा गरी सुरक्षा व्यवस्था चुस्त राखे पनि कोही पनि नआएको गिरीले जानकारी दिए ।
स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुनिए पनि मतदानमा सहभागी नहुनुको यकिन कारण भने अझै खुल्न सकेको छैन । मुख्य निर्वाचन अधिकृत गिरीले साँझसम्म मतदाताहरू आउने अपेक्षा राख्दै मतदान केन्द्रमा कर्मचारीहरू पर्खेर बसिरहेको बताए ।
यसैगरी दाङको बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा पनि मतदाताले पूर्ण रूपमा निर्वाचन बहिष्कार गरेका छन् । आफ्नो बस्ती स्थानान्तरण हुनुपर्ने माग राज्य र सरोकारवाला निकायले नसुनेको भन्दै बबई गाउँपालिका वडा नम्बर १ को जनता मावि जिला र वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई केन्द्रका मतदाताहरू मतदानमा सहभागी नभएका हुन् ।
यसअघि नै बस्ती स्थानान्तरण नभए मतदान नगर्ने घोषणा गरेका उनीहरू बिहीबार मतदान सुरु भएदेखि नै केन्द्रमा देखिएका छैनन् । सुरक्षाकर्मी र कर्मचारीहरू बिहान ७ बजेदेखि नै तयारी अवस्थामा रहे पनि स्थानीयको अडानका कारण ती केन्द्रमा अहिलेसम्म एक मत पनि खस्न सकेको छैन ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा पनि स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन् । प्रदेश सरकारले सो क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने आश्वासन दिए पनि काम सुरु नगरेको विरोधमा ७०१ जना मतदाता रहेको सो केन्द्रमा कोही पनि मतदान गर्न नगएका हुन् ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले सो केन्द्रमा पुग्दा कोही पनि मतदाता फेला नपरेको र स्थानीय ‘नो भोट’ को स्थितिमा रहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अस्पताल निर्माणको काम नहुँदा स्थानीयमा आक्रोश बढेको बताए ।
मुख्य निर्वाचन अधिकृत कोइरालाका अनुसार यसबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ र साँझसम्म मतदाता नआएमा खटिएका कर्मचारीहरूको समानुपातिकतर्फको मत मात्र मुचुल्का उठाएर पठाइने तयारी गरिएको छ ।
प्रतिक्रिया