धनगढी । सुदूरपश्चिम प्रदेशमा आयात–निर्यात व्यवसायमा करिब तीन अर्ब रुपैयाँ निजी क्षेत्रले पूँजी लगानी गरेको छ । आयात तथा निर्यात गर्ने व्यवसायको दर्ता तथा नविकरण सम्बन्धी काम गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले प्रदेशमा नौ सय १७ वटा सो सम्बन्धी कार्य गर्ने व्यवसाय दर्ता भएको जनाएको छ ।
आयत तथा निर्यात व्यवसाय गर्नका लागि १० लाख रुपैयाँदेखि लगानी गरेका ती व्यवसायिक फर्महरुले दुई अर्ब ९० करोड रुपैयाँ पूँजी लगानी गरेको कार्यालयका प्रमुख सुरेश जैसीले जानकारी दिए । दर्ता भएका व्यवसायमध्ये कतिपयले आयात–निर्यात दुवै काम गर्ने गरेका छन् भने अधिकांशले आयातमा सक्रिय छन् ।
थोरैमात्र निर्यातजन्य सामग्री उत्पादन हुने हुनाले निर्यात व्यवसायमा फर्म दर्ता पनि न्युन रहेको प्रमुख जैसीले बताए । उनले हार्डवेयर, खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, सवारी साधन, तरकारी, कोल, कच्चा पदार्थलगायतका सामग्री आयात गर्न फर्म दर्ता भएको बताए ।
यसैगरी, सुदूरपश्चिमबाट कत्था, रोजिन, टर्पेन्टाइन तेल, खयर, क्र्याब, क्यामोमाइल, पिना, बिरे नुनलगायतका सामग्री निर्यात हुने गरेको कैलाली भन्सार कार्यालयको तथ्यांक छ । अघिल्लो वर्ष २७ अर्ब रुपैयाँको सामान आयात हुँदा ४८ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
प्रदेशमा गत आर्थिक वर्षमा १२ वटा आयात निर्यातजन्य १२ वटा फर्म दर्ता हुँदा १४ वटा फर्मको दर्ता खारेज भएको थियो भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १९ वटा नयाँ फर्म दर्ता हुँदा ३ वटा फर्मका सञ्चालकले दर्ता खारेज गराएका छन् । व्यवसाय घाटामा जाँदा वा व्यवसाय परिवर्तन गरेको कारण व्यवसायहरु दर्ता खारेज हुने गरेको छ ।
प्रतिक्रिया