धनगढी । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ । पहिलो चरणको कामको सुरुवात वैशाखमै भएकोमा शनिबार केबलकार निर्माणको शिलान्यास गरिने भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिगाह जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ । चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो ।
थापाका अनुसार सात अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । ‘केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्,’ उनले भने, ‘सो यात्रा करिब १० मिनेट हुने छ ।’
थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ ।
यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ ।
प्रतिक्रिया