धनगढी । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो पराजय निश्चित छ भन्ने आफूलाई थाहा हुँदा हुँदै पनि चुनाव लडेको बताएका छन् ।
चुनावपछि मतदातालाई धन्यवाद दिन आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका भट्टले कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो हार चुनाव अघि नै निश्चित रहेको थाहा पाएको बताएका हुन । ‘निर्वाचनको मैदानमा उत्रिनुअघि नै मलाई हारको पूर्वाभास भइसकेको थियो,’ भट्टले भने, ‘तर, म उम्मेदवार भएकाले चुनावकै बेला सार्वजनिक नगरेको मात्रै हो । वरिपरि घेरेर बस्ने र गलत सूचना दिने एउटा विशेष झुण्डका कारण पार्टीले यो अवस्था भोग्नुपरेको हो ।’
नेतृत्वसँग निकट देखिन फोटो खिचाउने र अनावश्यक भीड जम्मा गर्ने समूहले वास्तविक धरातलभन्दा बाहिरको सूचना प्रवाह गर्दा पार्टीले क्षति व्यहोर्नु परेको भट्टको भनाइ छ । चुनावका बेला आफ्नै पार्टीका कतिपय नेता र कार्यकर्ताले जग्गा बेचेर चुनाव लड्न सुझाव दिएको प्रसङ्ग स्मरण गर्दै उनले राजनीतिमा बढ्दो आर्थिक मोह र संस्कारहीनताप्रति चिन्ता व्यक्त गरे। कार्यकर्ताहरू पैसाबिना चल्नै नसक्ने अवस्थामा पुग्नुले पार्टीको वैचारिक धरातल कमजोर भएको र संगठन चेन अफ कमाण्डुमा नरहेको उनले बताएका छन्।
साढे ६ लाख संगठित सदस्य भएको दाबी गर्ने पार्टीले आफ्नै सदस्यहरूको मत समेत जोगाउन नसक्नु गम्भीर विषय भएको भट्टले बताए । संगठनले जनतासँग प्रभावकारी समन्वय गर्न नसक्दा मतदाताले ‘भेट्न नआएको’ उनले गुनासो गरे । अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको मतलाई विचार र सिद्धान्तभन्दा पनि एउटा सामयिक फेसनको संज्ञा दिँदै उनले आफ्नै कमजोरीका कारण मतदाता झुक्किएको दाबी गरे।
आफूले यो क्षेत्र र देशको विकासका लागि इमानदार प्रयास गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ छ । निर्वाचनमा प्राप्त जनमतलाई सम्मान गर्दै अब पार्टीभित्र निर्मम समीक्षा हुनुपर्ने र संगठनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्। पराजयका बाबजुद आफू र पार्टी विचलित नभई जनताको सेवामा सधैँ क्रियाशील रहने प्रतिबद्धतासमेत उनले जनाए।
प्रतिक्रिया