धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।
उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डीएसपी बोहराले बताए ।
डीएसपी बोहराका अनुसार धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।
खत्रीले दुई दिनअघि आफ्नो टिकटकमा आफ्नो ठूलो दुर्घटना होस् भन्दै धनगढीमै मोटरसाइकलमा सवार भिडियो हालेको थिए ।
‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् । अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिन । तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ खत्रीले पोस्ट गरेको भिडियोमा भनिएको छ । अहिले उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
प्रतिक्रिया